काठमाडौं, २ साउन । नेपाली कांग्रेसका पाका नेता गोपालमान श्रेष्ठले आजको केन्द्रीय समिति बैठक फेसबुक लाइभ हुने भएकाले पार्टी नेताहरु जिम्मेवार रुपमा प्रस्तुत हुने विश्वास व्यक्त गरेका छन् ।
‘नेपाली कांग्रेसको आधिकारिक फेसबुक पेजमार्फत केन्द्रीय समिति बैठकको परीक्षणका रुपमा प्रत्यक्ष प्रसारण गर्ने कुरा चलेको छ । पहिलो दिनको प्रतिक्रिया हेरेर लगातार गर्ने भन्ने कुरा छ । त्यसैले पार्टीका साथीहरु जिम्मेवार रुपमा प्रस्तुत हुनुहुनेछ । एकअर्कालाई खुइलाउनेभन्दा पनि पार्टीलाई कसरी अघि बढाउने भन्ने कुरा प्रमुख हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
हिजोको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा कांग्रेसको वरिष्ठ नेतामा आफ्नै नाममा सर्वसम्मति रहेको पनि नेता श्रेष्ठले बताए । उनले भने, ‘हिजोको पूर्ण बैठकमा वरिष्ठ नेता चर्चाको विषय बन्यो । डा. शशांक कोइराला, विश्वप्रकाश शर्मा, फरमुल्लाह मन्सुर, भीष्म आङदम्बे लगायतका साथीहरुले अब ढिलो नगरौं, गोपालमानजीभन्दा वरिष्ठ नेता कोही छैन, उहाँलाई सम्मान दिँदा राम्रै म्यासेज जान्छ भन्नुभएको थियो । त्यसमा कसैले विरोध गरेको छैन । सर्वसम्मति नै रह्यो । त्यो लगभग टुंगिएको मान्छु । सभापतिले फाइनल टच दिन मात्र बाँकी हो । शशांकजीले आजै डिसिजन गरौं भन्नभएको थियो । सभापतिजीले अहिले पख्नुस्, पछि गर्छु भन्नुभएको छ ।’
पार्टीको वरिष्ठ नेता डा. शेखर कोइराला कि तपाईं भन्ने पत्रकार धमलाको प्रश्नमा श्रेष्ठले भने, ‘हिजोको बैठकमा सर्वसम्मति नै भएको थियो मेरो नाममा । त्यहाँ शेखरजीको त कुरा चलेन । शेखरजीले कान्तिपुरको अन्तर्वार्तामा मैले वरिष्ठ नेता मागेकै छैन भन्नुभएको छ । सभापतिजीले उहाँलाई समेत बनाउनुहुन्छ भने पनि मलाई केही छैन । दुई जना बनाउनुहुन्न भन्ने पनि छैन । तर म वरिष्ठ नेता भन्नेमा कसैको दुबिधा छैन । सभापतिजीले पहिले पनि केन्द्रीय समिति बैठकमा निर्णय गराउँछु भन्नुभएको थियो ।’
हिजोको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकमा संसदीय दलको नेता परिवर्तनका विषयमा कुरा नउठेको पनि श्रेष्ठले बताए । उनले भने, ‘त्यो सन्दर्भमा एक शब्द बोल्नुभएन गगनजीले । संसदीय दलमा गगनजी उठ्नुभएकै हो । जित्नुभएको भए हामी उहाँलाई मान्थ्यौं । शेरबहादुरजीले बहुमतका साथ जित्नुभएको छ । त्यसैले अहिले त्यस्तो सम्भावना देखिएको छैन । बाहिरको हल्ला र कुरा सुनेर मैले भन्ने कुरा छैन । सम्बन्धित ठाउँमा कुरा उठाए पो हामीले भन्ने । केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण हुन्छ, अब सुनिहाल्नुहुन्छ नि ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई निलम्बन नगरिने पनि उनले बताए । श्रेष्ठले भने, ‘यो विषय अदालतमा विचाराधीन छ । त्यसैले कसैलाई पुर्पक्षमा राख्दैमा दोषी र निर्दोषी भन्न मिल्दैन । यसअघि पनि पार्टीले कसैलाई निलम्बन गरेको छैन । अदालतको अन्तिम निर्णय नआईकन हामी बालकृष्ण खाणलाई निलम्बन गर्दैनौं । शेरबहादुर देउवाले बचाउने भए त हस्तक्षेप गरिहाल्नुहुन्थ्यो नि । ७० प्रतिशत सरकार त कांग्रेसकै छ नि ।’ पार्टीले विशेष महाधिवेशन होइन नीति महाधिवेशन गर्ने पनि श्रेष्ठले बताए ।
आजको कांग्रेस केन्द्रीय समिति बैठकमा श्रेष्ठले निर्वाचन परिचालन समितिको प्रतिवेदन, संसदका बारेमा प्रमुख सचेतक रमेश लेखक, सरकारका बारेमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, अनुशासन सम्बन्धमा आनन्दप्रसाद ढुंगानाले आफ्ना धारणा राख्ने छन् । यसका साथै नीति अधिवेशन र समसामयिक विषयमा व्यापक छलफल हुने उनले बताए ।