काठमाडौं, ३ साउन । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले महामन्त्री गगन थापाको कार्यक्रमिक प्रस्तावले सभापति शेरबहादुर देउवालाई संकट नपारेको बताएका छन् ।
‘महामन्त्रीले राख्नुभएको प्रस्ताव व्यक्तिगत होइन, सिंगो नेपाली कांग्रेसको हो । पार्टी सभापति, उपसभापति, महामन्त्रीलगायत केन्द्रीय सदस्य सबैको हो । यसमा अनावश्यक रुपमा कसैलाई खेद्न र खेल्न आवश्यक छैन । हामी सबैको उद्देश्य कांग्रेसलाई पहिलो र प्रिय पार्टीका रुपमा स्थापित गर्ने हो । यसमा हामी किन तयार नहुने ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता खतिवडाले कांग्रेसलाई कमजोर बनाउने इच्छा कुनै नेता, कार्यकर्तामा नभएको पनि बताए । उनले भने, ‘यो एकदमै राम्रो कार्यतालिका हो, अझै केही पुगेका छैन । हामीले रामनारायण मिश्र, योगेन्द्रमान शेरचन, बलबहादुर राईको पनि स्मृति दिवस मनाउनुपर्छ । पार्टी ढिलोछिटो गाउँगाउँमै जानुपर्छ । महासमिति बैठक एक वर्ष गर्ने कुरा छुटेको छ ।’
महासमिति बैठक नीति अधिवेशन अघि गर्ने कि पछाडि गर्ने भन्ने विषयमा आज छलफल हुने पनि खतिवडाले बताए । उनले भने, ‘पार्टी विधान अनुसार जानुपर्छ भन्नेमा कुनै विमति छैन । विशेष महाधिवेशन र संसदीय दलको नेता परिवर्तनको प्रस्ताव महामन्त्रीको प्रतिवेदनमा कहीं उल्लेख नभएको पनि उनले जिकिर गरे । खतिवडाले भने, हामीले पार्टीभित्र आएका एजेन्डामा बोल्ने हो ।’
कांग्रेसले केन्द्रीय समिति बैठक किन लाइभ गरेको हो भन्ने पत्रकार धमलाको प्रश्नमा खतिवडाले भने, ‘कांग्रेस जनताकै पार्टी हो । पारदर्शितामा विश्वास गर्ने पार्टी हो । केन्द्रीय समिति बैठक लाइभ गरेर नयाँ पद्धति सुरु भएको छ । पार्टीमा कतिपय कुरा गोप्य पनि राख्नुपर्छ भनेर सुरुमा मेरो विमति थियो । अब कार्यान्वयन भइसक्यो, मेरो विमतिले काम गरेन ।’