Logo

राजनीतिक स्थायित्व र राष्ट्रिय पहिचानका लागि हिन्दुराष्ट्रको विकल्प छैन : राप्रपा उपाध्यक्ष



काठमाडौं, ४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री ध्रुवबहादुर प्रधानले भन्सार नतिरीकन एक क्विन्टल सुन बाहिरिनु चिन्ताजनक भएको बताएका छन् ।
‘त्यति धेरै परिमाणको सुन भन्सार नतिरीकन कसरी बाहिर निस्कियो भन्ने कुरा महत्त्वपूर्ण छ । अब हामीले भन्सारमा कहीँ न कहीँ त्रुटि छ भन्ने बुझ्नुपर्छ । यस्ता सुन तस्करीमा निकै सम्पत्तिवाला र छोटो समयमा धनाढ्य हुन चाहने व्यक्तिहरु लागेका हुन्छन् । आतंकवाद, लागुऔषध वा अन्य कालो धन उपयोग गरेका हुन्छन् । नोक्सान भए पनि केही छैन भनेर लगानी गरेका हुन्छन् । यतिका सुन कसरी आयो, के प्रयोजनका लागि आयो भनेर गम्भीर अनुसन्धान हुनुपर्ने हो । यो जफतमै मात्र टुंगिनुहुँदैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
राप्रपाका सांसद एवं पूर्व प्रहरी महानिरीक्षक समेत रहेका प्रधानले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध राम्रो कामको सुरुवात गरेको र त्यसमा आफ्नो समर्थन रहेको पनि बताए । साथै उनले हिन्दुराष्ट्र नेपालको प्राण भएको टिप्पणी पनि गरे । उनले थपे, ‘नेपालको राजनीतिक स्थायित्व र पहिचानका लागि हिन्दुराष्ट्र कायम हुनुपर्छ । राजसंस्था हटाउन सजिलो हुन्छ भनेर धर्मनिरपेक्षता ल्याइएको हो । हिन्दुराष्ट्रको एजेन्डामा हामी दह्रो रुपमा उभिएका छौं । यो पार्टीगत मात्र नभएर जनताको एजेन्डा हो । कुनै न कुनै दिन यो सफल पनि हुन्छ ।’ मुलुकले आर्थिक रुपमा संघीयता धान्न नसक्ने जिकिर पनि उनले गरे ।

 



प्रतिक्रिया दिनुहोस्