काठमाडौं, ६ साउन । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा सांसद प्रभु साहले गौर हत्याकाण्डका पीडितले न्याय पाउनुपर्ने बताएका छन् । अहिलेसम्म पीडित परिवारलाई न्याय दिलाउन ढिलाई भएकोप्रति उनले गुनासो पोखे । साहले पीडितलाई न्याय दिलाउनको लागि सुरु भएको आन्दोलनलाई सशक्त बनाईने बताए ।
आज (शनिबार) रौतहटको गरुडामा पार्टीको गरुडा नगर कमिटीद्वारा आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै साहले यस्तो बताएका हुन् । उनले गौर हत्याकाण्डका पीडित परिवारलाई न्याय दिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग पनि छलफल गरेको र दुवैबाट सकारात्मक जवाफ पाएको सुनाए ।