Logo

कम्युनिस्ट एकताको बाधक ओली र एमाले : खतिवडा



काठमाडौं, ७ साउन । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्युनिस्ट एकतामा बाधक भएको आरोप लगाएका छन् ।
‘केपी शर्मा ओलीले भएको नेपाल कम्युनिस्ट पार्टीको एकतालाई टुटाउन र सम्पूर्ण पार्टीलाई आफ्नो पोल्टामा पार्न मिहिनेत गर्नुभयो । उहाँ कम्युनिस्ट एकताको बाधक हुँदै हो । नेकपा एमाले पनि केपी ओली सँगसँगै आजको समस्या रहेको देखिन्छ । त्यहाँ किन विद्रोह हुँदैन ? केन्द्रीय कमिटीमा किन दबाब सिर्जना हुँदैन ? त्यो ओलीको मात्र प्रवृत्ति हो कि सिंगो पार्टीकै प्रवृत्ति हो ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता खतिवडाले ओलीले मैले निम्न गल्ती गरें अब गल्ती गर्ने छैन भने आत्मसमीक्षा गरेर सुधारको बाटोमा हिँडेको दिन एकताको बिन्दु पहिल्याउन सकिने पनि बताए । साथै उनले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको बाटो आफ्नो पार्टीले नछाडेको दाबी पनि गरे । देशमा बहुदलीय व्यवस्था ल्याउन कांग्रेस र कम्युनिस्ट मिलेर जानुपर्छ भन्ने पुष्पलालको प्रस्तावना सफल भएको पनि उनले बताए । आज  पुष्पलालको ४५औं स्मृति दिवस हो ।
प्रवक्ता खतिवडाले गठबन्धन सरकारको औचित्य पुष्टि गर्न सरकारले अझ प्रभावकारी काम गर्नुपर्ने र भ्रष्टाचार नियन्त्रणमा सरकारले गरेको प्रयासमा न्यायालयको सहयोग अपेक्षित रहेको पनि औंल्याए ।



प्रतिक्रिया दिनुहोस्