Logo

नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुअघि नेपाली राष्ट्रिय कंग्रेसका सचिव थिए पुष्पलाल



काठमाडौं, ७ साउन । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वमन्त्री युवराज ज्ञवालीले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाललाई नेपालको कम्युनिस्ट, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनका शिखर पुरुष र महामानवका रुपमा स्मरण गर्नुपर्ने बताएका छन् ।
‘नेपालको राजनीतिक परिवर्तनमा कमरेड पुष्पलालको अग्रगामी भूमिका छ । नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुभन्दा अघि उहाँ नेपाली राष्ट्रिय कंग्रेसको सचिव हुनुहुन्थ्यो । तर कांग्रेसभित्रको अन्तर्विरोध र कांग्रेसले नेपाली समाजलाई साँचो अर्थमा मुक्ति र समृद्धिको दिशामा अघि बढाउन सक्दैन भन्ने निष्कर्षमा पुगेर उहाँले राणा शासनको अन्धकारमय समयमा पनि जनवादी क्रान्तिको उद्देश्य र साम्यवादको लक्ष्य राखेर कोलकातामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभयो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
उपाध्यक्ष ज्ञवालीले कम्युनिस्ट आन्दोलनमै पनि पुष्पलालमाथि धोका भएको टिप्पणी गरे । उनले भने, ‘कमरेड पुष्पलाललाई प्रथम महाधिवेशनमा महासचिव हुन दिइएन । महाधिवेशन हुनुभन्दा पहिले नै हटाइयो । तेस्रो महाधिवेशनसम्म आइपुग्दा नेकपा विभिन्न गुट उपगुटका कारण उहाँले २०२५ सालमा तेस्रो सम्मलेन गरेर कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्नुभयो ।’
२०४६ सालको जनआन्दोलन पुष्पलालकै दुरदर्शी प्रस्तावका कारण सफल भएको पनि उनले औंल्याए । ज्ञवालीले भने, ‘कमरेड पुष्पलालले विघटित संसदको पुनस्र्थापना र पञ्चायती व्यवस्थाविरुद्ध संयुक्त जनआन्दोलन गर्नुपर्छ भन्ने प्रस्ताव बीपी कोइरालासँग कुरा गर्नुभएको थियो । त्यतिखेर विश्व राजनीतिमा चीन, रुस लगायत देशको कम्युनिस्ट दबदबाको कारण उहाँले मिलेर आन्दोलन गर्न चाहनुभएन । २०४६ सालमा वाममोर्चा र कांग्रेस मिलेर संयुक्त आन्दोलन गरी बहुदलीय व्यवस्थाको पुनःस्थापना भयो । पुष्पलालको देहावसानपछि मात्र हामीलाई उहाँको नीति ठीक रहेछ भन्ने भयो ।’
नेकपा एमाले पुष्पलालको विचारभन्दा बाहिर नगएको पनि ज्ञवालीले बताए । उनले थपे, ‘नेपालको कम्युनिस्ट आन्दोलनभन्दा पुष्पलालको विचारभन्दा बाहिर गएको छैन । उहाँको नीति र दृष्टिकोणअन्तर्गत रहेर नै हामीले जबज (जनताको बहुदलीय जनवाद) को विकास गरेका हौं ।’ आज नेकपाका संस्थापक महासचिव पुष्पलालको ४५औं स्मृति दिवस हो ।
एउटै सिद्धान्त, उद्देश्य र कार्यनीति भएका कम्युनिस्टहरु अलग अलग बस्ने भन्दा पनि एकताबद्ध गरेर जानुपर्छ भन्ने आफ्नो प्रस्ट विचार रहेको पनि उनले बताए । ज्ञवालीले भने, ‘अहिले कम्युनिस्टहरुबीच यति धेरै तिक्तता छ कि कोही कम्युनिस्टको सरकार ढालेर कांग्रेसको सरकार बनाउन जानुभयो । त्यति ठूलो पार्टीलाई एकताबद्ध राख्न नसक्दा असाध्यै ठूलो ऐतिहासिक अवसर गुम्यो । त्यो फुट र विभाजनको गम्भीर आत्मसमीक्षा गरेर देश र जनताका लागि काम गर्नु राम्रो हो ।’
पुष्पलालको ४५औं स्मृति दिवस पारेर चिनियाँ कम्युनिस्ट पार्टीको उच्च नेतृत्व नेपाल आउँदै छ, तपाईंहरुलाई मिलाउन आएको हो भन्ने पत्रकार धममलाको प्रश्नमा नेकपा एमालेका उपाध्यक्ष ज्ञवालीले भने, ‘चीन र भारत हाम्रा छिमेकी देश हुन् । उनीहरु आउने जाने निरन्रतर चलिरहन्छ । आज आउनु संयोग मात्र हा । चिनियाँ कम्युनिस्ट पार्टी र सरकारसँग हाम्रो धेरै पुरानो सम्बन्ध छ । कम्युनिस्टहरुलाई अरुले मिलाउने भन्दा पनि आफैं मिल्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्