Logo

प्रधानमन्त्री प्रचण्ड भदौभित्रै चीन भ्रमणमा जानुहुन्छ : सल्लाहकार गजुरेल



काठमाडौं, ७ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले वतमान सरकारले देश र जनताको हितमा प्रशस्त काम गरेको दाबी गरेका छन् ।
‘प्रधानमन्त्री प्रचण्डले सुशासनको पक्षमा थुप्रै काम गर्नुभएको छ । भ्रष्टाचारविरुद्धको अभियानमै हुनुहुन्छ । यसपटक विद्यालयमा किताब समयमै पुग्यो, किसानलाई मलको अभाव हुन पाएन । परराष्ट्र सम्बन्ध सन्तुलित भएको छ । भारत भ्रमण सफल रह्यो । आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझ सुदृढ गर्ने पक्षमा छौं,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

सल्लाहकार गजुरेलले प्रधानमन्त्री प्रचण्ड उत्ताउलो नभईकन विधि र प्रक्रिया मिलाएर सौम्य ढंगले सुशासनको पक्षमा काम गरिरहेको दाबी पनि गरे । भ्रष्टाचारविरुद्धको कदम अघि नबढे परिवर्तन नै धरापमा पर्न सक्ने औंल्याए । साथै गजुरेलले गठबन्धन सरकारलाई बलियो बनाउन नै समाजवादी मोर्चा नेपालको गठन भएको बताए ।
अर्को प्रसंगमा गजुरेलले प्रधामन्त्री प्रचण्ड भदौको पहिलो साता चीन भ्रमणमा जाने बताए । उनले थपे, ‘प्रधानमन्त्रीको चीन भ्रमण छिटै हुँदै छ । तर यति नै गते भनेर सार्वजनिक गर्ने बेला भएको छैन । सम्भवतः भदौको पहिलो साता वा भदौभित्रमा भ्रमण हुन्छ । भारतसँग जस्तै चीनसँगको सम्बन्ध सुदृढ बनाउँदै लैजाने र विश्वासको वातावरण बनाउने काममा उहाँ लाग्नुभएको छ ।’



प्रतिक्रिया दिनुहोस्