खलङ्गा, ८ साउन । दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीमा ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको आज उद्घाटन गरिएको छ ।
गत शुक्रबार परीक्षण गरिएको अपर चमेलियाको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डे र मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।
उत्पादित विद्युत्लाई शैल्यशिखर नगरपालिका–१ बलाचस्थित सवस्टेशनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको कम्पनीका प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेले बताए । उनका अनुसार आठ अर्ब ५० करोड लागतमा ३० महिनामा आयोजना सम्पन्न भएको हो । रासस