काठमाडौं, ८ साउन । बहुजन शक्ति पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासमानले बारा र पर्साको जनजीवन अस्तव्यस्त बनेको भन्दै सरकारको ध्यानाकार्षण गराएका छन् । दुवै जिल्लामा पानीको हाहाकार र विजुलीको पनि समस्याबाट ग्रसित रहेको उनको भनाई छ ।
रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा उनले भने,”म हिजो बारा र पर्सामा थिएँ, त्यहाँको जनजीवन एकदमै अस्तव्यस्त देखें । खानेपानीको पनि समस्या छ । चापाकलमा पानी सुकेको छ । सिँचाईको अवस्था पनि त्यस्तै छ । सुख्खा खडेरी परेको छ ।”
उनले बारा र पर्साको अवस्था तराईका अन्य जिल्लामा पनि कायम भएको भन्दै संघीय सरकार र प्रदेश सरकारले जनताको हितको लागि कुनै सकारात्मक पहलकदमी नलिएकोमा गुनासो पोखे । उनले अब जनता जाग्ने दिन आउन थालेको पनि सुनाए ।
सरकारले भ्रष्टाचार नियन्त्रणको लागि चालेको कदम स्वागतयोग्य भएको उल्लेख गर्दै जनताको प्रत्यक्ष जीवनमा असर पार्ने कुरामा पनि समस्याको समाधानमा सरकारले ध्यान दिनुपर्ने उनको सुझाव थियो ।