Logo

समाजवादी मोर्चा त कांग्रेसले पो बनाएको रहेछ : नेता बडाल



काठमाडौं, ९ साउन । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री केशव बडालले विदेशी पार्टीको सल्लाह र निर्देशनमा नेपालका कम्युनिस्ट पार्टीहरुको एकता नहुने बताएका छन् ।
‘एमाले कुनै देशको पार्टीको सल्लाह र र निर्देशनमा चल्ने पार्टी होइन । कोसँग एकता गर्ने, एकता गर्ने कि नगर्ने, के गर्दा उपयुक्त हुन्छ, त्यो हामी आफैँ गर्छौं । हामी मिल्ने वा नमिल्ने अन्तर्राष्ट्रिय भाइचारा पार्टीले भन्ने होइन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग बडालले भने । साथै उनले नेकपा एमालले एकताको ढोका कसैसँग बन्द नगरेको पनि बताए ।
नवगठित समाजवादी मोर्चा कांग्रेसले बनाएको आरोप पनि बडालले लगाए । उनले भने, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्कालले नै हामीले नै समाजवादी मोर्चा बनाउन लगाएको हो भने । नेताहरु एमालेमै फर्किन थाले भनेर कांग्रेसको रायसल्लाहमै मोर्चा बनाएको रे । अनि त्यस्तो मोर्चामा हामी किन जाने ?’
नेता बडालले सर्वोच्च अदालतलाई प्रधानन्यायाधीशविहीन बनाउन सरकार र वर्तमान गठबन्धन न्वारानदेखि बल लगाएर लागेको आरोप पनि लगाए । उनले भने, ‘वर्तमान गठबन्धनले सर्वोच्च अदालतलाई १८ महिनासम्म प्रधानन्यायाधीशविहीन बनायो । हरिकृष्ण कार्की बिदा हुन्, त्यसपछि विचार गरौँला भनेर गम्भीर षडयन्त्र भइराख्या छ ।’ प्रधानन्यायाधीशको नियुक्तिमा एमाले बाधक नहुने पनि उनले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्