Logo

सरकार सतही, हल्लाखल्ला र टालटुले कुरामा मात्र लागेको छ : एमाले नेता



काठमाडौं, १० साउन । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले नयाँ प्रधानन्यायाधीश नियुक्तिमा संवैधनिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै चासो नदिएको आरोप लगाएका छन् ।
‘वर्तमान प्रधानन्यायाधीशको नियुक्तिमा पनि धेरै झमेला भयो । अब पनि त्यस्तै हुने अवस्था छ । नियुक्ति प्रक्रिया छिटोछरितो नहुने र मूल नेतृत्व गर्नुपर्ने भन्दा गर्नुनपर्ने काममा लाग्ने र हाइफाई देखाउने काममा लागेको छ । यो नियुक्ति सिफारिसका लागि न्यायपरिषद् र संवैधानिक परिषद्को बैठक बसेको छैन । प्रधानमन्त्रीले नै चासो दिनुभएको छैन भने हामीले मात्र चाहेर के गर्ने ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
पूर्व कानुनमन्त्री समेत रहेका शेरबहादुर तामाङले राजनीतिक नेतृत्वका कारण न्यायालय कमजोर अवस्थामा पुगेको टिप्पणी पनि गरे । उनले थपे, ‘अहिले अदालत विक छ । मुद्दाको चाङ छ । मुद्दा छिन्ने प्रक्रिया अत्यन्त लामो छ । पीडित झन् पीडित हुने फैसला आइरहेको छ ।’
गठबन्धन सरकार सतही, हल्लाखल्ला र टालटुले कुरामा मात्र लागेको आरोप पनि तामाङले लगाए । उनले भने, ‘हामीले के के न गर् यौ भनेर खोक्नुको कुनै अर्थ छैन । एक क्विन्टल सुन समातियो तर सुन कसको भन्ने अहिलेसम्म थाहा छैन । भरियालाई मात्र समातेको छ । यस्ता प्रकरण कैयौँ छन् ।’ राष्ट्रिय सभामा मिटरब्याजपीडित सम्बन्धी अध्यादेश रोकिए अरु विद्यमान कानुनबाट पनि उपचार गर्न सकिने उनले औंल्याए । संसदीय प्रक्रिया अत्यन्त लामो भएकाले त्यसलाई छोट्याउनुपर्ने उनको तर्क छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका नेता युआन च्युन कम्युनिस्ट पार्टीहरुलाई मिलाउन नआएको पनि उनको दाबी छ । उनले भने, ‘चीनको चाहना पार्टीगत र जनस्तरको सम्बन्ध बनाउनेभन्दा पनि सरकार टु सरकारको औपचारिक सम्बन्धमा देखिन्छ । कम्युनिस्ट पार्टीहरु मिलाउने वा जुटाउने भन्नेमा त्यस्तो जोड दिँदैन । आन्तरिक कुरामा उसले खासै चासो दिँदैन ।’



प्रतिक्रिया दिनुहोस्