Logo

शेरबहादुर देउवालाई दलको नेताबाट हटाएर अर्को व्यक्ति प्रधानमन्त्री बन्ने असम्भव कुरा हो : कांग्रेस नेता



काठमाडौं, १० साउन । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री उमेश श्रेष्ठले पार्टी सभापति शेरबहादुर देउवा कमजोर भएको भन्ने हल्ला मिथ्या साबित भएको टिप्पणी गरेका छन् ।
‘सामाजिक सञ्जालमा जे जस्ता कुरा आए पनि केन्द्रीय समिति र संसदीय दलमा शेरबहादुर देउवाको पकड छ भन्ने हामीलाई थाहा थियो । यसपटकको केन्द्रीय समिति बैठकले उहाँ कमजोर हुनुहुन्छ, हटाउन खोजिन्छ भन्ने हल्ला मिथ्या साबित गरेको छ । उहाँ निकै मजबुत अवस्थामा हुनुहुन्छ । उहाँको कार्यकाल अझै धेरै समय बाँकी छ । हामी सबैले उहाँलाई निसर्त सहयोग गर्नुपर्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
आज सकिने केन्द्रीय समिति बैठकले कांग्रेसलाई एकढिक्का बनाएर लैजाने पनि उनको दाबी छ । श्रेष्ठले भने, ‘६ दिनसम्म पार्टीका पदाधिकारीसहित १५६ जना केन्द्रीय सदस्यले आआफ्ना कुरा खुलस्त राख्नुभएको छ । लाइभ गरेर पार्टीले जनमानसमा स्पष्ट रुपमा राखिदिएको छ । आजको केन्द्रीय समिति बैठकमा पार्टी सभापतिले आफ्नो जवाफ दिनुहुन्छ र औपचारिक निर्णय गरेर बैठक आज सकिन्छ । पार्टीले एकजुट भएर निर्णय गर्ने पनि उनले बताए । उनले भने, गुट बनाएर कांग्रेस अगाडि बढ्न सक्दैन । कम्पिटिसन विद् कोपरेसन आजको आवश्यकता हो ।’
आजको भोलि नै पार्टी महामन्त्री गगन थापा संसदीय दलको नेता र प्रधानमन्त्री हुने हुने कुनै सम्भावना नभएको पनि नेता श्रेष्ठले औंल्याए । उनले भने, ‘उहाँ संसदीय दलमा प्रतिस्पर्धामा गरेको मान्छे हो, अझै प्रतिस्पर्धा गर्छु भन्नुभएको छ । त्यो उहाँको कुरा हो । आफ्नो अभियान हो । उहाँ नेता हो, महामन्त्री हो । अहिले उहाँले शेरबहादुर दाइलाई सघाएर आफ्नो भूमिका बढाएर अझै राम्रो छाप छाडेर कांग्रेसलाई कसरी अघि बढाउने भन्ने सहयोगी भावना लिएर गए दलको नेता हुन सक्नु पनि होला । त्यसका लागि नेगेटिभभन्दा पोजिटिभ साइडबाट जान सक्नुपर्छ । तर आजको भोलि नै शेरबहादुरजीलाई हटाउनु असम्भव कुरा हो ।’
महामन्त्री थापाले भविष्य सोचेर हतारो गर्नु नहुने पनि श्रेष्ठले बताए । उनले भने, ‘शेरबहादुरजी पार्टी सभापति हो । केन्द्रीय समितिमा उहाँको ८२ प्रतिशत होल्ड छ । पार्टीको अफिस सञ्चालन गर्ने महामन्त्रीले हो । अबको कांग्रेस एक-दुई जनाले मात्र हाँक्न । तल्लो तहदेखि केन्द्रसम्म एकजुट भई योजना बनाएर काम गरेर जानुपर्छ । उहाँहरु युवा हुनुहुन्छ । उहाँहरुको पालो आइहाल्छ । अहिले नै हतारो गरेर द्वन्द्व बढायो भने कांग्रेस झन् कमजोर हुन्छ । त्यसैले अहिले सम्भव हुने काम गरौँ ।’



प्रतिक्रिया दिनुहोस्