बझाङ, साउन ११ । बुधबार बिहानै खप्तडछान्ना गाउँपालिकाका राजेश कार्की हातमा एक पाकेट नुन बोकेर हिँड्दै गरेको भेटिए । उनको हातमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सहुलियतमा वितरण गरेको भानु नुन थियो । बजारमा कार्कीलाई चिनजानका सर्वसाधारणले बिहानै नुन कता पाइयो भनेर प्रश्नसमेत गरिरहेका थिए । कार्कीको जवाफ थियो, “पसल खुला हुनुपर्छ, जता पनि पाइन्छ ।”
कार्की सदरमुकाम चैनपुर बस्न थालेको पाँच वर्ष भइसक्यो । एअरपोर्टमा बस्दाबाहेक बीच बजारमा सरेपछि उनले हरेक पटक नुन विभिन्न पसलहरूबाट किन्दै आएका छन् । पसलबाट किनिएको नुन भने कताबाट आएको हो भन्ने उनलाई जानकारी छैन । “नुन सकिएपछि जुन पसल खुला हुन्छ, त्यो पसलमा जान्छु । नुन मागेपछि पाइहाल्छु”, उनले भने ।
सुर्माकी रमा बोहरालाई पनि चैनपुरमा नुन किन्न कहिल्यै समस्या परेन । बजारमा जानेबित्तिकै नुन पाइरहेको उनले सुनाईन्। “म आएको डेढ वर्ष हुन लागिसक्यो”, उनले भनिन्, “सबै मान्छे नुनै पाइँदैन भन्छन् । मलाई भने अहिलेसम्म कहिल्यै समस्या परेन । पैसा भए सुनसमेत पाउने ठाउँमा नुन पाइँदैन भन्नु अचम्मको कुरा हो ।”
बजारमा आफूले चाहेमा जति पनि नुन किन्न सक्ने उनको भनाई छ । “मैले गत साता मात्रै एउटा पसलबाट १५ पाकेट नुन किनेर गाउँ पठाएकी थिएँ ।” गाउँमा पशुलाई समेत पाकेटकै नुन खुवाउने गरेको उनले सुनाईन् ।
राजेश र रमा जस्तै पसलेका ग्राहक हुन् दुर्गाथली गाउँपालिका जुजीका हेमराज जोशी । जोशीलाई पनि बझाङमा नुन सङ्कट भएको भन्ने अचम्म लाग्छ । “हिजो मात्रै मैले मन्दिर नजिकैको पसलबाट एक पाकेट नुन ल्याएको हुँ । कसरी सङ्कट भयो? ” धेरै किन्नु नपर्ने तर, कहिलेकाहीँ एक÷दुई पाकेट जता पनि पाइने हुँदा समस्या नपरेको उनले बताए । जोशीले भने, “पैसा भए सुन त सजिलै पाउँछ भने नुन किन नपाउनु ”
बझाङमा नुन विक्रीका लागि आधिकारिक विक्रेता भनेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड हो । साल्ट ट्रेडिङको डिपोबाहेक कसैले पनि नुन बेच्न पाउँदैन । तर, राजेश, रमा, हेमराज जस्तै सयौँ ग्राहक भने साल्ट ट्रेडिङको नुन बेच्ने पसलेबाटै कारोबार गरिरहेका छन् । साल्ट ट्रेडिङ कर्पोरेशनको डिपोबाट प्रति पाकेट नौ रुपैयाँमा किनेर व्यापारीले १५ देखि २० रुपैयाँमा बेच्दै आएका छन् । रासस