Logo

अर्थमन्त्री डा. महतलाई प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुपर्छ : कांग्रेस सांसद



काठमाडौं, १२ साउन । नेपाली कांग्रेसका नेता एवं सांसद डा. सुनील शर्माले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले तत्काल राजीनामा नदिए आमरण अनशन बस्ने चेतावनी दिएका छन् ।
‘यहाँ राज्यसत्तामा बसेर लुटपाट मच्चाउने काम भइरहेको छ । गृहमन्त्रीले स्टन्ट मात्र गरेका छन् । सुन तस्करीमा गृहमन्त्री र अर्थमन्त्रीको संलग्नताबिना कसरी यत्रो सुन तस्करी हुन सक्छ । सुन तस्करीको अनुसन्धान प्रक्रिया सहज गराउन उहाँहरुले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ । अर्थमन्त्री र गृहमन्त्रीलाई राजीनामा गराइएन र सुनकाण्डका नाइके पक्राउ परेनन् भने सुनकाण्डमा ठूला दलका सुप्रिम नेता त संलग्न छैनन्, भन्ने ठूलो प्रश्न उठ्छ । सुरुमा म प्रधानमन्त्रीलाई भेटेर अल्टिमेटम दिन्छु, मेरा माग सम्बोधन नभए आमरण अनशन बस्छु,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
सुन तस्करीको मुख्य संरक्षक गृहमन्त्री र अर्थमन्त्री नै भएको उनको ठोकुवा छ । डा. शर्माले भने, ‘भन्सारको सुरक्षा घेरा नाघेर सुन तस्करी भएको छ । सुन ल्याउने कम्पनीमा जाँदा गोदाममा खाली बक्समा भेटिन्छ । यो लाज मर्नु होइन ? उहाँहरु दुइटैले के हेर्नुभो ? मलाई थाहा छैन भन्नु जस्तो ठूलो विडम्बना के हुन सक्छ ? जोसुकै व्यापारी देखाए पनि उहाँहरुले सेटिङ नगरी कसरी यति ठूलो तस्करी कसरी हुन सक्छ ?’
गृहमन्त्री र अगर्थमन्त्रीले एकैचाटि राजीनामा गर्दा देश संकटमा पर्दैन भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘राजा जाँदा देश चलेन र ? हरेक पार्टीमा क्वालिफाइड मानिस छन्, त्यो सजिलै रिप्लेस हुन्छ ।’ नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति माग राख्नु तस्करलाई संरक्षण गर्नु र विषयान्तर गर्नु मात्र भएको आरोप पनि उनले लगाए ।
कांग्रेस सांसद डा. शर्मा अर्थमन्त्री डा. महतप्रति अझै खनिए । उनले भने, ‘२०७९ चैत १७ गते अर्थमन्त्रीले शपथ लिनुभो । बिनाकारण अर्थसचिव परिवर्तन गर्नुभो । एक महिना पछाडि भन्सारको मुख्य नेतृत्व परिवर्तन गरेर पकेटको मान्छे लगेर राख्नुभयो । सुन तस्करी भएको सूचना अन्तर्राष्ट्रिय खुफिया एजेन्सीले प्रधानमन्त्रीको कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागले थाहा पाएर पक्राउ गरियो । अनि चुनाव जित्ने हैसियत नराख्ने, समानुपातिकबाट आएको सांसदले देश चलाउने ?’
साथै उनले अर्थमन्त्रीले कुल बजेटको ५३ प्रतिशत बजेट चार निर्वाचन क्षेत्रमा हालेर नीतिगत भ्रष्टाचार गरेको आरोप पनि लगाए । उनले भने, ‘उहाँले १६१ निर्वाचन क्षेत्रलाई निर्ममतापूर्वक नेग्लिजेन्स गर्नुभएको छ । एउटै आमाको छोरा डा. रामशरण महतले आफ्नो बैंक खातामा विश्व बैंकमा जागिर खाँदाको डलर भेटियो भन्दा राजीनामा दिनुभयो र क्लिन छवि बनाउनुभयो, भाइ सुन तस्करी र नीतिगत भ्रष्टाचारमा मुछिँदा पनि राजीनामा गर्नुहुन्न ।’
अर्थमन्त्री र गभर्नरले प्राइभेट बैंकबाट महिनावारी पैसा उठाएर खाइरहेको आरोप पनि डा. शर्माले लगाए । उनले भने, ‘अर्थतन्त्रमा यत्रो समस्या आउँदा पनि बैंकको ब्याज घटाएनन् । यस्तो व्यक्तिलाई एक मिनेट पनि पदमा बस्ने अधिकार छैन । कि राजीनामा गर्नुपर्छ नत्र प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ ।’ यसबारे पार्टी सभापति शेरबहादुर देउवाले पनि सोच्नुपर्ने उनको कथन छ ।



प्रतिक्रिया दिनुहोस्