Logo

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता



काठमाडौं, साउन १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सात दिने इटाली भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् ।
संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल यही साउन ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले ‘फुड सिस्टम समिट’लाई सम्बोधन गर्दै जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न र अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताएका थिए। सो क्रममा प्रधानमन्त्री दाहालले ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई पनि सम्बोधन गरेका थिए ।

रोममा रहँदा प्रधानमन्त्री दाहाल र बङ्गलादेशी समकक्षी शेख हसिनाबीच द्विपक्षीय भेटवार्ता भएको थियो । भेटवार्तामा उनीहरूबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको थियो । उनीहरूबीच कृषि, जलविद्युत् क्षेत्रमा सहकार्य तथा क्षेत्रीय सहयोग र सहकार्यका विविध विषयमा महत्त्वपूर्ण छलफल भएको थियो ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको थियो । भेटका क्रममा उनीहरूबीच पर्यावरण, खाद्य सुरक्षा र नेपाल र राष्ट्रसङ्घबीचको सम्बन्धलाई अझ मजबुत बनाउनेबारे छलफल भएको थियो ।

प्रधानमन्त्री दाहाल नेतृत्वको भ्रमण दलमा उनका स्वकीय सचिव एवं छोरी गङ्गा दाहाल, कृषि तथा पशुपक्षी विकासमन्त्री डा। बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मीलगायत सहभागी रहेका थिए । प्रधानमन्त्री प्रचण्ड केहिबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । भ्रमणका उपलब्धीबारे जानकारी दिन विमानस्थलमै पत्रकार सम्मेलन सुरु हुँदैछ ।

प्रधानमन्त्रीको स्वागतका लागि सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, अन्य मन्त्री, सुरक्षा निकायका अधिकारीलगायत विमानस्थल पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्