काठमाडौँ, १२ साउन । आज विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस यस वर्ष ‘एक जीवन, एक कलेजो’ नारासहित विभिन्न अस्पताल तथा चिकित्सकले जनचेतनामूलक कार्यक्रम र अन्तक्र्रिया आयोजना गरी मनाइँदै छ । वरिष्ठ कलेजोरोग विशेषज्ञ प्रा डा सुधांशु केसीले विशेषगरी हेपाटाइटिस रोगबारे जनचेतना फैलाउन दिवस महत्त्वपूर्ण भएको बताए। नेपालमा हुने भाइरल हेपाटाइटिसमा चार प्रमुख छन् । यसमा हेपाटाइटिस ‘ए’, हेपाटाइटिस ‘इ’, हेपाटाइटिस ‘बी’ र हेपाटाइटिस ‘सी’ रहेका छन् ।
के हो हेपाटाइटिस ?
हेपाटाइटिस रोग कलेजोमा सुजन वा सुन्निनु हो जुन विभिन्न प्रकारका सङ्क्रामक भाइरस र गैरसङ्क्रामक कारणले स्वास्थ्यमा समस्या निम्त्याउने गर्छ । हेपाटाइटिस मुख्यतः पाँच प्रकारका हुने गर्छन् ।
कलेजोरोग विशेषज्ञ डा. दिलीप शर्माका अनुसार यी सबैले कलेजोको रोग निम्त्याउने भए पनि सर्ने तरिका, रोगकोे गम्भीरता, भौगोलिक वितरण र रोकथामको विधि फरक हुने गर्छ । हेपाटाइटिस बी र सीले दीर्घकालीन समस्या निम्त्याउँछ । कलेजो सिरोसिस, कलेजो क्यान्सर र भाइरल हेपाटाइटिसबाट मृत्युसम्मको कारण हेपाटाइटिस बी र सी रहेको छ ।
भाइरल हेपाटाइटिस साइलेन्ट किलर पनि भनिन्छ । हेपाटाइटिस बी र सीका अधिकांश बिरामीमा लक्षण देखिँदैन, लक्षण नदेखिँदा ढिला उपचार गराउने कारण क्यान्सर लाग्ने हुन्छ । हेपाटाइटिस बी र सी एउटा समूहमा राखिन्छ । रगत र रगतजन्य पदार्थबाट सर्ने यो प्रकारको हेपाटाइटिस शारिरीक सङ्क्रमणबाट समेत सर्दछ । सीको सङ्क्रमण धेरै लागुपदार्थ दुव्र्यसनीमा फस्नेमा देखिने गरेको छ । हेपाटाइटिस बी सङ्क्रमित आमाबाट बच्चामा सर्ने हुन्छ । परिवार र समुदायमा बढी देखिने गर्दछ ।
चिकित्सकका अनुसार भाइरल हेपाटाइटिस सङ्क्रमण मौन हुने गर्छ । हेपाटाइटिस ए र ‘इ’भन्दा बी र सीकोे सङ्क्रमण घातक हुने गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विश्वभर यी दुई प्रकारका हेपाटाइटिसबाट हरेक दिन झन्डै आठ हजार नयाँ सङ्क्रमित थपिन्छन् । यसबाट प्रत्येक वर्ष १० लाखभन्दा बढी हेपाटाइटिसका कारण मृत्यु हुने अनुमान डब्लुएचओको अनुमान छ ।
विश्व स्वास्थ्य सङ्गठनको विश्वव्यापी हेपाटाइटिस रणनीतिअनुसार सदस्य राष्ट्रमा सन् २०३० सम्म नयाँ हेपाटाइटिस सङ्क्रमण ९० प्रतिशत र मृत्युलाई ६५ प्रतिशतले घटाउने लक्ष्य छ ।
हेपाटाइटिसबाट कसरी बच्ने ?
चिकित्सकका अनुसार हेपाटाइटिस रोगको रोकथामको पहिलो उपाय भनेको यसको पहिचान नै हो । हेपाटाइटिसको परीक्षण नियमित गर्नुपर्छ । हेपाटाइटिस नभएका व्यक्तिले यसविरुद्धको खोप लगाउने, उमालेको पानी पिउने र सफा स्वच्छ आहार खाने, रातो मासु, रक्सी नखाने र जन्डिस तथा खाना अरुचिको लक्षण देखिएमा चिकित्सकको परामर्श लिन डा शर्माको सुझाव छ ।
उनले भने, “हेपाटाइटिस बी र सीलाई प्राथमिकतामा राखेर त्यसको परीक्षण र उपचार गर्नसके मात्र यो रोग कम हुँदै जान्छ ।” उनका अनुसार कलेजोलाई स्वस्थ्य राख्न व्यक्ति स्वयं सचेत हुनुपर्छ ।
हेपाटाइटिसको उपचार
“आफैँ निको हुने रोगको नेपालमा गलत उपचार भइरहेको छ । बिरामीलाई अप्ठ्यारोसँगै कतिपय अवस्थामा मृत्युसमेत हुने गरेको छ”, डा. केसीले भने, “बिरामीलाई जन्डिसको समस्या देखिन्छ । जन्डिस भइसकेपछि आयुर्वेद र जडीबुटीको औषधि खाने तथा खाना बार्ने गर्दा रोग बिग्रिन्छ । त्यसले गर्दा अरु अप्ठ्यारो आउन सक्छ ।”
डा केसीले जनचेतनाको अभावमा बिरामीले जथाभावी औषधिको सेवन गर्न नहुने बताए । उनका अनुसार हेपाटाइटिस ए र इ हेपाटाइटिस पानी र फोहर खानेकुराबाट सर्ने गर्छ । यसका बिरामीले पर्याप्त आराम र स्वच्छ आहार सेवन गरेको केही समयमा आफैँ निको हुन्छ । उनका अनुसार यो विशेषगरी दीर्घरोगी र गर्भवतीमा बढी सङ्क्रमण हुने गर्छ ।
हेपाटाइटिस सीको उपचारका सन्दर्भमा उनले भने, “औषधिको मूल्य समान हुनाले अहिले एक बिरामीलाई रु ७० हजारसम्म उपचार खर्च लाग्न सक्छ ।” सी र एचआइभीको संयुक्त सङ्क्रमण हुने बिरामीलाई सरकारले निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । हेपाटाइटिस बीका लागि खोप उपलब्ध छ ।
डा. शर्माले भने, “हेपाटाइटिस बी सङ्क्रमण धेरै भएको पकेट क्षेत्रमा माइक्रो एलिमेनेसनको कार्यक्रम गर्नुपर्दछ । त्यस्ता ठाउँमा रोगको परीक्षण गर्नुपर्छ र बिरामीको समयमा उपचारको व्यवस्था गर्न सके सङ्क्रमण फैलिनलाई रोक्न सहयोग पुग्छ ।”
हेपाटाइटिस ए र इ स्वास्थ्यकर आहार र पर्याप्त आरामबाट निको हुनसक्छ । सीको औषधिको प्रयोगबाट निको हुन्छ भने बीको औषधिको प्रयोगले नियन्त्रण हुनसक्छ । बी र सीको औषधि उपचारबाट कलेजोलाई कडा हुनबाट बचाउँछ । चिकित्सकका अनुसार लिभर सिरोसिस भएमा अन्तिम विकल्प भनेको ट्रान्सप्लान्ट हो । त्यसकारण पनि समयमै रोगको पहिचान गर्नुपर्ने उनको सुझाव छ ।
नेपालमा हेपाटाइटिसको समस्या
सरकारसँग यकिन तथ्याङ्क नभए पनि तीन लाख जना हेपाटाइटिस रोगबाट पीडित हुनसक्ने चिकित्सकको अनुमान छ । देशभर तीन लाखमध्ये हेपाटाइटिस सीका बिरामी एक लाख छन् । चिकित्सकका अनुसार नेपालमा हेपाटाइटिस ए र इ बढी देखिन्छ । प्रत्येक वर्ष वर्षायाममा बढी देखिन्छ ।
“हेपाटाइटिस बी कुनै कम र कुनैमा धेरै छ । मनाङ, मुस्ताङ र डोल्पामा धेरै छ”, डा. केसीले भने, “हिमाली भू–भागमा मात्र होइन, तराईका केही समुदायमा पनि हेपाटाइटिस बीको सङ्क्रमण धेरै देखिएको छ ।” एचआइभी/एड्सलाई महत्त्व दिएजस्तै सरकारले हेपाटाइटिसलाई पनि प्राथमिकतामा राखेर यसको उपचार निःशुल्क गर्न चिकित्सकले सुझाव दिएका छन् । रासस