काठमाडौं, १४ साउन । जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधानमा समाजवादउन्मुख भनेर लेखिएपनि अहिलेको व्यवहार समाज विमुख र विकृत पुँजीवादउन्मुख भैरहेको टिप्पणी गरेका छन् । समाजवादी विद्यार्थी मोर्चाको घोषणालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले देशमा शिक्षा, स्वास्थ्य र रोजगारको अवस्थाले देश कता जाँदैछ ? भन्ने देखाउने पनि चित्रण गरे । तर, देशमा अहिले सामान्य जनताले उपचार गर्न सक्ने अवस्था नरहेको जिकिर गरे । उनले अहिले देशमा विकृत पुँजीवादमात्रै रहेको टिप्पणी गरे । उनले आफूहरुको नीति नै परिवर्तन गर्न जरुरी रहेको आवश्यकत्ता औंल्याए ।
आफूहरुको व्यवहारमा आमूल परिवर्तन भएन भने सार्थक परिवर्तन नहुने पनि यादवको भनाई छ । देशका कृषि, उद्योगलगायत क्षेत्र पनि ध्वस्त भएको भन्दै यादवले चिन्ता गरे । नेपाल अहिले मानव निर्यात मुलुकको रुपमा चिनिन थालेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
उनले आफू दुई दुई पटक देशको परराष्ट्रमन्त्री भएको भन्दै केही अनुभव पनि साझा गरे । उनले विकसित मुलुकको भ्रमणमा जाँदा नेपालका मन्त्री आएपछि केही माग्नै आएको होला भनेर व्यवहार गरिएको गुनासो सुनाए ।