Logo

कांग्रेस नेता भन्छन्— पार्टीको महामन्त्रीले दलको नेता वा प्रधानमन्त्री हुन चाहनु खराब कुरा होइन नि



काठमाडौं, १५ साउन । नेपाली कांग्रेसका नेता एवं पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रमुख प्रतिपक्ष नेकपा एमालेमाथि राज्य सञ्चालनमा केटाकेटी व्यवहार देखाइरहेको आरोप लगाएका छन् ।
‘प्रमुख प्रतिपक्षले शंकाको भरमा लंका जलाउनु उचित हुँदैन । शंकाकै भरमा सुनकाण्डमा राजनीतिक सलंग्नता छ भन्न मिल्छ ? सरकारले एउटा छानबिन समिति बनाइसकेपछि फेरि अर्को बनाउने कुरा भएन नि । प्रत्येक घटनामा संसदीय छानबिन समिति वा उच्चस्तरीय छानबिन समिति बनाउने ? एमालेले हिजो पनि प्रधानमन्त्रीले राजीनामा नगरेसम्म सदन चल्न दिँदैनौं भनेको सुनेकै हो । जेमा पनि राजीनामा माग्ने अनि उच्चस्तरीय छानबिन समिति माग गर्नु केटाकेटीपन भयो कि ? राज्यसंयन्त्र चलाउने कुरामा यसरी बचकनापन देखाउनु हुँदैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता शाहीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आफ्नो काम गरिरहेको दाबी पनि गरे । उनले भने, ‘सरकारले केही पनि गरेन भन्ने सत्य होइन । तर जति हुनुपर्ने हो, त्यति नभइरहेको भन्न सकिन्छ । सरकारले एक क्विन्टल सुन नसमातेको भए जनतालाई थाहा हुन्थ्यो त ? भ्रष्टाचारको कारबाही अघि नबढाएको भए थाहा हुन्थ्यो ? सत्तापक्ष, प्रमुख प्रतिपक्ष जसले गरे पनि हामीले राम्रो कुरालाई राम्रो नै भन्न सक्नुपर्छ ।’
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेतृत्वको दाबी गर्नु अस्वाभाविक नभएको टिप्पणी पनि उनले गरे । शाहीले भने, ‘जीवन्त पार्टीमा सभापतिको कमीकमजोरीमा बोल्नैहुन्न भन्ने छैन । कसैले शेरबहादुर देउवा ठीक भन्लान्, कसैले गगन थापा ठीक भन्लान् । पार्टीको महामन्त्रीले दलको नेता हुन वा प्रधानमन्त्री हुन चाहनु खराब कुरा होइन नि । हामी नेतृत्व विकासका लागि तयार छौं भन्नु स्वाभाविकै हो नि । नेता हटाउन सक्ने, नसक्ने अर्कै कुरा हो ।’
अर्को प्रसंगमा उनले कर्णाली प्रदेशमा नुनको अभाव हल्ला मात्र भएको पनि औंल्याए । शाहीले थपे, ‘कर्णालीमा नुन नपाएको वा एक पोका नुनको ७० देखि १०० रुपियाँ तिरेको भन्ने कुरा अफवाह हो । कहिलेकाहीँ राज्यले धेरै सुविधा दिनु पनि गलत रहेछ । सुर्खेतमा २० रुपैयाँ पर्ने नुन सरकारले जुम्लामा ९ रुपियाँ दिन्छ । सरकारले सब्सिडी दिएको नुन पाइएन भनेका होलान् । तर बजारमा नुन अभाव छैन ।’

 



प्रतिक्रिया दिनुहोस्