Logo

रोल्पाको परिवर्तन गाउँपालिकामा सुधारको सुरसार



काठमाडौं, १६ साउन । रोल्पाको परिवर्तन गाउँपालिकाले स्वास्थ्य, शिक्षा र कृषिका लागि दक्ष जनशक्ति उत्पादन गर्न एमबीबीएस, बीएस्सी कृषि, पशु चिकित्सा, गणित र विज्ञान विषयमा स्नातक अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरेको छ । त्यसका लागि गाउँपालिकाले वार्षिक ३ करोड बजेट छुट्ट्याएको पनि गाउँपालिका अध्यक्ष सुकबहादुर बुढा मगरले बताए ।
‘विकासै भएन भन्ने साँचो होइन । १५ वर्ष अगाडिसम्म नुन र खाद्यान्न ल्याउन अनि फोन गर्न दाङ झर्नुपर्ने अवस्था थियो । अहिले सडक सञ्जाल नपुगेको गाउँ छैन । वडा कार्यालयसम्म नियमित सडक सञ्चालन गरेका छौं । कृषिमा पकेट क्षेत्र घोषणा गरेका छौं । सामुदायिक विद्यालयमै निःशुल्क र गुणस्तरीय शिक्षाको व्यवस्था गरेका छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘पालिका बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
साथै अध्यक्ष मगरले गाउँपालिकामा १५ शैय्याको अस्पताल सञ्चालन गर्न लागेको पनि बताए । उनले भने, ‘परिवर्तन गाउँपालिकामा निःशुल्क भिडियो एक्सरे र निःशुल्क एम्बुलेन्स सेवा छ । ६० वर्ष माथिका वृद्धवृद्धाको निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ ।’
गाउँपालिकाको सीमित स्रोत र साधनबाट रोजगारी सिर्जना गरेको पनि उनले बताए । अध्यक्ष बुढाले भने, ‘गाउँपालिकामा जीविकोपार्जनको मुख्य आधार कृषि तथा पशुपालन हो । गत वर्ष ८० जनालाई युवा स्वरोजगार कार्यक्रमअन्तर्गत सापटी दिएका छौं । दुई वर्ष राम्रो गरे त्यसलाई अनुदानमा परिणत गरेर अघि बढाउने र नराम्रो गरे सापटी फिर्ता लिने भनेका छौं ।’ साथै उनले कृषि उपज बजारसम्म लैजान कृषकहरुलाई ढुवानीमा अनुदान दिने र कृषकहरुलाई प्रांगारिक मल प्रयोगमा प्रोत्साहन गरिएको पनि बताए । आफूहरुले जनताको बीचमा गरेका प्रतिबद्धता पूरा गर्दै गए पनि उचित प्रचार-प्रसार हुन नसकेको उनको दुखेसो छ ।

 



प्रतिक्रिया दिनुहोस्