Logo

यूएईका लागि प्रस्तावित राजदूत क्षेत्रीविरुद्धको उजुरीमा छलफलका लागि उजुरीकर्तालाई नबोलाइने (भिडिओसहित)



काठमाडौं, १६ साउन । संसदीय सुनुवाई समितिको बैठकले युएईका लागि प्रस्तावित राजदूत तेजबहादुर क्षेत्रीविरुद्ध परेको उजुरीमा छलफलका लागि उजुरी कर्तालाई नबोलाउने निर्णय गरेको छ । आज (मंगलबार) बसेको बैठकमा उजुरीकर्तालाई नबोलाएर यस विषयमा परराष्ट्रमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको हो ।

‘सचिवजी परराष्ट्र मन्त्रीजीलाई भोलि बोलाउनुस् । परराष्ट्र मन्त्रीजीको कुरा सुनौं । अहिलेलाई यो उजुरीकर्तालाई नबोलाउने भन्ने कुराको एक किसिमको सहमति जस्तो मैले बुझेँ । तर, यो नै नजीर बन्न सक्दैन । हाललाई उहाँलाई नबोलाउने, परराष्ट्रमन्त्रीजीलाई बोलाउने त्यसपछि काम कारबाही अगाडि बढाउने,’– समितिका जेष्ठ सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले भने ।

सरकारले विभिन्न नियोग तथा देशमा गरी ६ जना परराष्ट्र मन्त्रालयका उच्च कर्मचारीलाई राजदूत बनाएर पठाउने निर्णय गरेको थियो । सरकारको निर्णयपछि सिफारिस भएका व्यक्तिविरुद्ध कुनै उजुरी भए सोमबारसम्म दिन भनिएको थियो ।

समितिले दिएको समयभित्र अन्य प्रस्तावित राजदूतविरुद्ध उजुरी नपरेपनि एक प्रस्तावित राजदूतविरुद्ध भने अनौंठो उजुरी परेको थियो । परराष्ट्र मन्त्रालयमा कार्यरत एक कर्मचारीले नाम र पद उल्लेख नगरी यूएईका लागि प्रस्तावित राजदूत क्षेत्रीविरुद्ध अंग्रेजी नजान्ने र आजसम्म कुनैपनि लिखित जाँच पास नगरी उच्च तहमा पुगेको भनी उजुरी दर्ता गरेका थिए ।

प्रस्तावित राजदूत क्षेत्रीका विषयमा उजुरीकर्ताले मन्त्रालयमा क्षेत्री ‘टीक लगाएर छिरेको र त्यसपछि कहीँ कतै पास नभएको’ उजुरीमा उल्लेख थियो ।

“टिक लगाएर मन्त्रालयमा छिरेका हुन् र त्यसपछि आजसम्म कहिले पनि पास भएका छैनन्,” उजुरीकर्ताले लेखेका छन्, “यिनले एक प्याराग्राफ पनि अंग्रेजी लेख्न सक्दैनन्, यिनलाई टेस्ट लिन सकिन्छ । यस्ता मान्छेले देशकै बेइज्जत गर्ने हुन् ।”



प्रतिक्रिया दिनुहोस्