काठमाडौं, साउन १७ । नेकपा (माआवादी केन्द्र) को स्थायी समितिको बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेर अघि सुरु भएको बैठकमा आजदेखि राजधानीमा सुरु हुने केन्द्रीय समिति बैठकको सम्बन्धमा छलफल भईरहेको जनाईएको छ ।
बैठकले केन्द्रीय समितिमा पेस हुने राजनीतिक तथा साङ्गठनिक दस्तावेजलाई अन्तिम रुप दिनेछ। स्थायी समिति अगाडि पार्टी मुख्यालयमा केन्द्रीय समितिको ‘एजेन्डा’ तय गर्न आजै विहान पदाधिकारी बैठक बसेको थियो। पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकका बारेमा छलफल भएको बताइएको छ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक तथा साङ्गठनिक प्रस्ताव पेस गर्ने छन्। उक्त प्रस्तावमाथि सबै केन्द्रीय सदस्यले धारणा राख्नेछन्। बैठकमा तीन सय ८५ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका ७५ सदस्य र पार्टीको १० प्रदेश पदाधिकारी एक सय गरी सात सय ५८ जनाको सहभागिता रहने माओवादी केन्द्रले जनाएको छ।