Logo

सुन तस्करीमा प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीले प्रमाण लुकाउने काम गरेको राजन भट्टराईको आरोप



काठमाडौं, १९ साउन । नेकपा एमालेका नेता एवं विदेश विभाग प्रमुख डा. राजन भट्टराईले सुन तस्करीको छानबिन गर्छु भन्नेहरुकै भूमिका शंकास्पद भएकाले उच्चस्तरीय छानबिन समिति आवश्यक रहेको औंल्याएका छन् ।

‘शृंखलाबद्ध सुन तस्करीमा सरकारकै मान्छेको नाम जोडिएको छ । सीआईबीले नामै किटान गरेका माओवादी पार्टीका उपाध्यक्ष, प्रवक्ता एवं पूर्वसभामुख कृष्णबहादुर महरा र उनको छोराबाहेकलाई मुद्दा चलाउन निर्देशन दिने गृहमन्त्रीले तस्करीको छानबिन गर्छन् भनेर विश्वास गर्ने आधार छ ? जसले छानबिन गर्छौं भनेका छन्, उनीहरुकै बारेमा छानबिन गर्नुपर्ने भएपछि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ भन्ने माग यथावत् छ । यसबाट हामी पछि हटेका छैनौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग भट्टराईले भने । माओवादी पार्टीभित्रै पनि भ्रष्टाचार, बेथिति मौलाएको भनेर पार्टीमा कुरा उठेको पनि उनले औंल्याए ।

राजस्व अनुसन्धान विभागले छानबिन गर्छ भन्ने आफूहरुलाई विश्वास नभएको पनि डा. भट्टराईले बताए । उनले भने, ‘प्रधानमन्त्रीको दाहिने र देब्रेतिर बस्ने मान्छेको नाम सुन तस्करीमा जोडिएको छ । अहिले राजस्व अनुसन्धान विभाग कसको नेतृत्वमा छ ? अस्तिसम्म प्रधानमन्त्रीको निजी सचिवालयमा बसेका नवराज ढुंगाना भन्ने व्यक्ति नेतृत्वमा बसेका छन् अनि हावा कुरा दिएर हुन्छ ? घटना के हो भनेर हेर्नु पर्दैन ? अहिलेसम्म कारबाहीमा को परिरहेको छ भन्दा भरिया मात्र परिरहेका छन् ।’ प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीले प्रमाण लुकाउने काम गरिरहेको पनि उनले बताए ।

तस्करी, अनियमितता र बेथितिबाट देशलाई मुक्त गर्न उच्चस्तरीय छानबिन समितिको विकल्प नभएको डा. भट्टराईको धारणा छ । उनले देशभित्र छानबिन नहुने स्थितिमा अन्तर्राष्ट्रिय छानबिनका लागि संयुक्त राष्ट्रसंघलाई गुहार्नुपर्ने अवस्था आउने पनि बताए । तस्करी र माफियागिरीको जालोका कारण नेपाल असफल राष्ट्रमा जाने हो कि भन्ने चिन्ता अन्तर्राष्ट्रिय समुदायमा देखिएको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्