Logo

भ्रष्टाचारको कारण देश खोक्रो भैरहेको छ : एलिजा गौतम



काठमाडौं, २२ साउन । नायिका एवम् समाजसेवी एलिजा गौतमले देशमा अझैपनि सुत्केरीले उपचार नपाएर ज्यान गुमाउनुपरेको भन्दै सरकारप्रति आक्रोश पोखेकी छिन् । गौतमले सरकारले सुत्केरीको सामान्य उपचारको पनि बन्दोबस्त गर्न नसकेको भन्दै खोई संघीयताको आभास भन्दै प्रश्नसमेत गरेकी छिन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो आक्रोश पोखेकी हुन् । उनले देशका भिआईपी र भिभिआईपीहरुले भने सामान्य ज्वरो आउँदापनि राज्यकोषको दुरूपयोग गरेर विदेशका महँगा अस्पतालमा उपचार गरिरहेको तर सामान्य नागरिकले भने सामान्य उपचार नपाएर ज्यान गुमाउनु परेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेकी छिन् ।

उनले फेशबुकमा लेखेकी छिन्–

सम्पूर्ण महानुभावहरूमा न्यानो सम्झना अनि नमस्कार!

देशमा अहिले सबै ठीकठाक भैरहेको छ जस्तो लाग्दैन् । जिम्मेवार दलका जिम्मेवार नेतागणहरू यतिवेला कता–कता मलाई राजनीतिक खिचातानीमा अल्झिएको र आरोप–प्रत्यारोपमा उत्रिएको भान हुन्छ । देशका दुर्गममा सुत्केरी महिलाहरुले समयमै उपयुक्त उपचार नपाएको कारण ज्यान गुमाएका समाचार आइरहेका छन् । यो एकदमै पीडादायी कुरा हो । संविधान जारी भएपछि ‘घर–घरमा सिंहदबार’ भनियो । तर, यो नारामा मात्रै सिमित भएको कुरा सुत्केरीले सामान्य उपचार नपाएर ज्यान गुमाउनुपरेको घट्नाले पनि पुष्टि गरिसकेको छ । जनप्रतिनिधिहरु गम्भीर हुनुपर्दैन् ? यसप्रति म सरकारको विशेष ध्यानाकार्षण गराउन चाहन्छु ।

देशका भिआईपी र भिभिआईपीहरुले सामान्य ज्वरो आउँदापनि राज्यकोषको दुरूपयोग गरेर विदेशका महँगा अस्पताल चाहार्नुपर्ने अनि देशमा भने एउटा सामान्य मानिसले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था एकदमै चिन्ताजनक छ । जबसम्म यसमा सुधार हुँदैन, तबसम्म समृद्धि र सुशासनको जतिसुकै ठूला गफ गरेपनि आम नागरिकले राहतको अनुभव गर्न पाउने छैनन् । जनताले सामान्यभन्दा पनि सामान्य कुरामा सरकारबाट राहत चाहेका छन् । दिन प्रतिदिनको महँगीले जनताको ढाड सेकिएको छ । सरकारले जनतालाई राहत दिनेगरि मूल्यवृद्धि र महँगी नियन्त्रणमा ध्यान दिनुपर्छ ।

वर्तमान सरकारले सुशासन पहिलो शर्त बनाएको छ–यो एकदमै सराहनीय कुरा हो । अब व्यवहारमा पनि भ्रष्टाचार नियन्त्रणको लागि कडा कदम चालोस । यो वा त्यो, अथवा नातावाद र कृपावादको बहान वा दलदलमा फसेर कोही कसैलाई पनि भ्रष्टाचारको सवालमा जोगाउने वा संरक्षण गर्ने काम नहोस । यस विषयमा सरकार निर्मम ढंगले प्रस्तुत हुनुपर्छ । नेपाली जनताले सरकारका हरेक कदम र गतिविधिलाई नजिकबाट नियाँलिरहेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणदेखि एक क्विन्टल सुन तस्करी प्रकरणसम्मका कुरा गर्दा यी प्रकरणमा संलग्न मुख्य दोषीहरुलाई कारबाहीको दायरामा ल्याईयोस । भ्रष्टाचारको कारण देश खोक्रो भैरहेको छ। सरकार र खासगरी यसको नेतृत्व गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले कुनै सम्झौता नगरी भ्रष्टाचारीलाई कारबाही गर्न हिम्मत गर्नुपर्छ । अनिमात्रै सुशासन र समृद्धि हाँसिल हुन्छ । सबैको भलो होस । धन्यवाद ।  

File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्