तनहुँ, साउन २३ । तनहुँ जिल्लामा उत्पादित कागतीको बजारीकरणका लागि कृषि ज्ञान केन्द्रले पहल थालेको छ । जिल्लामा उत्पादित कागतीले बजार नपाएको बारेमा समाचार प्रकाशित भएपछि ज्ञान केन्द्रले बजारीकरणका लागि पहल थालेको हो ।
कागती बिक्री नहुँदा कृषक समस्यामा परेपछि ज्ञान केन्द्रले बजारको खोजीमा सहजीकरण गरेको हो । केन्द्र प्रमुख कुलप्रसाद तिवारीले आफ्नो नेतृत्वमा कालीमाटी तरकारी तथा फलफूल बजार समितिको कार्यकारी निर्देशक र कागतीका मुख्य व्यवसायीसँग यसबारेमा छलफल गरेको जानकारी दिए ।
उनले फलफूल समितिको कार्यकारी निर्देशक डीपी पुडासैनी र व्यवसायी हरिप्रसाद शर्मासँग तनहुँमा उत्पादित कागती बिक्री वितरणको व्यवस्था मिलाउन आग्रह गरेको बताए । उनले भने, ‘कागतीले बजार नपाएपछि किसान समस्यामा परेकाले बजारको सहजीकरणको पहल गरेका हौं । छलफल सकारात्मक भएको छ ।’
छलफलका क्रममा गुणस्तरीय कागती उत्पादन हुन सके फलफूल बजारले कागती खरिद गर्ने विषयमा सहमति समेत भएको छ । समितिको कार्यकारी निर्देशक पुडासैनीले दैनिक १५ हजार कागतीको माग रहेको र अधिकांश कागती भारतबाट आउने गरेको जानकारी दिए । उनले भने, ‘९५ प्रतिशत भारतीय कागती आउँछ, नेपाली कागती आउन सके किसानले राम्रो मूल्य पाउन सक्छन् ।’
कागतीका मुख्य व्यवसायी शर्माका अनुसार कालीमाटी तरकारी बजारमा किसानले कागती बिक्री गर्दा प्रतिकिलो १०० देखि १२० प्राप्त गर्न सक्नेछन् । उनका अनुसार टिपेको ४/५ दिनसम्म ल्याउँदा मूल्य राम्रो पाउने र त्यसपछि ल्याएको कागतीको गुणस्तर कम हुने भएकाले मूल्यमा समस्या हुने गरेको छ ।
देवघाट देवघाट गाउँपालिका–२ बिरौटा खाल्टेका मनिष मल्ल ठकुरीले उत्पादन भएका कागतीले बजार नपाएको गुनासो गरेका छन् । विदेशबाट फर्किएर कागती खेती शुरू गरेका उनले कागती बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘स्वदेशमै केही गरौं भन्ने भावनासहित यो पेशामा लागेको छु, बजार खोज्दै भौतारिनुपर्ने अवस्था आउँदा समस्या भइरहेको छ ।’
५ वर्ष अगाडिदेखि कागती खेती शुरू गरेका ठकुरीले पछिल्ला २ वर्षयता कागती बिक्री गर्न थालेका छन् । गत वर्ष पहिलो पटक ७० हजारको कागती बिक्री भएको उनले बताए । यो वर्ष ७०० किलो बिक्रीका लागि तयार भएका छन् ।
भारतबाट आउने कागतीका कारण स्थानीय स्तरमा उत्पादित कागतीले बजार नपाएको उनको भनाइ छ । उनले भने, ‘स्वदेशमै केही गरौं भन्ने लक्ष्यसहित लागेको छु, बजार नपाउँदा निराश भएपनि आँट मारिसकेको छैन ।’
कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा कागती खेतीतर्फ कृषकको आकर्षण बढेको छ । केन्द्रले कागती खेती कृषकलाई बगैंचासम्म पुगेर आवश्यक परामर्श दिने गरेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/०८० मा जिल्ला २० लाख मूल्य बराबरका कागती उत्पादन भएका छन् । ५०० हेक्टर क्षेत्रफलमा कागती खेती गरिएकामा ४५० मेट्रिक टन कागती उत्पादन भएको छ । रासस