Logo

उच्चस्तरीय छानबिन समिति वा आयोग गठनमा कांग्रेसको आपत्ति छैन : रमेश लेखक



काठमाडौं, २३ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आज बिहान साढे १० बजे बालुवाटारमा बस्ने शीर्ष नेताहरुको बैठकपछि संसद्को अवरोध खुल्ने विश्वास व्यक्त गरेका छन् ।
‘संघीय संसद्मा अवरोध भएको लामो समय भैसक्यो । हिजोदेखि शीर्ष नेताहरुबीच गम्भीर, लामो र सकारात्मक ढंगले छलफल अघि बढेको छ । आज बिहान साढे १० बजे बालुवाटारमा बैठक बस्ने कुरा छ । संसद्को बैठक दिउँसो ३ बजे बैठक तोकिएको छ । यसबीचमा सकारात्मक निष्कर्ष आउला र सहमति होला,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
प्रमुख सचेतक लेखकले प्रमुख प्रतिपक्ष नेकपा एमालेको माग अनुसार सरकार उच्चस्तरीय छानबिन समिति बनाउन तयार नभएको पनि औंल्याए । उनले भने, ‘सुन तस्करीका सम्बन्धमा अहिले सरकारको स्थायी संयन्त्रले काम गरिरहेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काम गरिरहेका बेला अहिले नै आशंका गर्नुपर्ने ठोस कारण छैन । त्यो संस्थामा विश्वास छैन भने त्यो संस्था किन राख्ने ? सत्तापक्षले पनि प्रतिपक्षका कुरा सुन्नुपर्छ तर सीआईबीको मनोबल नघटोस् र कार्यक्षमतामा अविश्वास नहोस् भन्नेमा प्रतिपक्ष गम्भीर हुनुपर्छ ।’
उच्चस्तरीय छानबिन समिति वा आयोग गठनमा आफ्नो पार्टीको कुनै आपत्ति नभएको पनि लेखकले बताए । उनले भने, ‘आयोग वा समितिमा हाम्रो आपत्ति होइन । आयोग बन्छ कहाँ बाट ? चन्द्रमाबाट बनाउने हो र ? सीआईबीले अनुसन्धान गर्न सक्दैन, अदालतले न्याय दिन सक्दैन, सेनाले राष्ट्रिय सुरक्षा गर्न सक्दैन भन्ने ठाउँमा पुग्यांै भने देश कसरी चल्छ ?’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मलाई केही समय दिनुस्, सुन तस्करीको विषयमा सार्थक, परिणाममुखी, पारदर्शी र स्वच्छ निष्कर्ष आएन भने अर्को छानबिन आयोग बनाउन तयार छु भनिसकेकाले एमालेले त्यसमा विश्वास गर्नुपर्ने लेखकको जिकिर छ । उनले थपे, ‘कुनै घटना वा विषयमा सदन अवरोध हुँदैन भन्ने होइन । सांकेतिक रुपमा अवरोध गर्न सकिन्छ । तर निरन्तर अवरोध गर्दा जनताका विषयलाई सदनमा प्रस्तुत गर्न नदिएको ठहरिन्छ ।’



प्रतिक्रिया दिनुहोस्