काठमाडौं, २३ साउन । नेकपा (माओवादी केन्द्र) का युवा नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले अब माओवादी धाराहरु एकै ठाउँमा आउनुपर्ने बताएका छन् । नेकपाका महासचिव नेत्रविक्रम चन्द माओवादी केन्द्रसँग एकताको तयारीमा रहेको बेलामा उनले यस्तो बताएका हुन् ।
नेता सापकोटाले फेसबुकमा लेखेका छन्-
नेपालमा अब माओवादी धाराहरु एकैठाउँमा आउनुपर्छ र जनयुद्धका उपलब्धिहरु रक्षा गर्दै बाँकी अभिभाराहरु पुरा गर्नुपर्छ । सैदान्तिक र व्यवहारिक हिसाबले एकता भन्ने बित्तिकै दुवै पार्टीबिच हुने राजनीतिक, बैचारिक र सांगठनिक एकता हो । कसैले कसैलाई कुन पद दिने वा लिने विषय होइन । एकता : कोही कतै प्रवेश गर्ने र गराउने विषय पनि होईन ।
मिडियामा उठेका एकता र पदिय भागबण्डा केन्द्रित प्रश्नको उत्तर दिनेक्रममा ‘कम्युनिष्ट पार्टीमा सबैभन्दा ठुलो कुरा पार्टी सदस्यता नै हुन्छ र सबैले सबैभन्दा पहिला प्राप्त गर्ने सदस्यता हो’ भन्न खोज्दा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवलाई पार्टी सदस्य दिने भन्ने जस्तो सुनिन गएको र त्यसबाट भ्रमित नहुन अनुरोध गर्दछु ।