Logo

सुन तस्करीको अनुसन्धानमा राजनीतिक सहभागिता खोज्नु एमालेको बदनियत हो : सांसद दाहाल



काठमाडौं, २४ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद लेखनाथ दाहाल (राजन) ले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने नेकपा एमालेको माग अनुचित भएको बताएका छन् ।
‘कुनै पनि खालको दबाब र प्रभावबाट मुक्त भएर सुन तस्करीको अनुसन्धान प्रक्रिया अगाडि बढेको छ । त्यसलाई गिजोल्न, बिथोल्न, विषयान्तर गर्न, सुन तस्करलाई संरक्षण गर्न र त्यसको जरा खोतल्दा आफूसम्म आइपुग्छ भन्ने त्रासमा एमालेले राजनीतिक सहभागिता खोजेको छ । यो राजनीतिक सहमति गर्नेभन्दा पनि आपराधिक विषय हो । अपराधलाई अनावश्यक राजनीतिक विषय बनाउने, समितिमा आफू बसेर प्रमाण नष्ट गर्ने, भ्रष्टाचारविरोधी अभियानलाई कमजोर बनाउने बद्नियतपूर्ण माग हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
एमालेको संसद् अवरोध प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सुशासन, समृद्धि र सामाजिक न्यायको संकल्पसहित भ्रष्टाचारविरोधी अभियानविरुद्ध लक्षित रहेको आरोप पनि सांसद दाहालले लगाए । उनले भने, ‘एमालेले विभिन्न बहाना बनाएर संसद् अवरोध गरिरहेको छ । अनुसन्धानको काम राज्यका निकायको हो । सीआईबी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण जस्ता दक्षता, विज्ञता र श्रेष्ठता हासिल गरेका निकायले गरेको अनुसन्धान नहुने, एमालेसहितको समितिले गरेको अनुसन्धान हुने ?’ सीआईबीसँग प्रमाणका आधारमा गृहमन्त्री वा प्रधानमन्त्रीलाई पनि अनुसन्धान गर्ने अधिकार भएको जिकिर पनि उनले गरे ।
एमालेले संसद् अवरोध गरिरहेकाले सांसदले जनताको कुरा राख्न नपाएको पनि सांसद दाहालले बताए । उनले भने, ‘संसद्लाई सरकारले पर्याप्त बिजिनेस दिएको छ । संघीय शिक्षा विधेयक, संघीय निजामती विधेयकमाथि छलफल हुन सकेको छैन । संसदमार्फत सरबारलाई दबाब सिर्जना गर्न पाइएको छैन । एमालेले सिंगो संसद्लाई बदनाम बनाएको छ । विवाद र अवरोधको थलो बनाएको छ ।’
साथै उनले सभामुख देवराज घिमिरेले एमालेलाई सहयोग पुग्ने गरी गतिविधि गरिरहेको आरोप पनि लगाए । उनले भने, ‘नेकपा एमालेलाई नाराजुलुस र विरोध गर्न दिने काम सभामुखबाट भएको छ । यो पुरानै कामको पुनरावृत्ति हो । सभामुखले एमालेलाई सहयोग पुग्ने गरी गतिविधि गर्न मिल्दैन ।’
३५ दिनभित्र अनुसन्धान गर्न सीआईबी असफल भयो वा त्यसमा चित्त बुझेन भने मात्र सरकार उच्चस्तरीय छानबिन समिति बनाउन तयार रहेको पनि उनले बताए । सरकार सदाका लागि सुन तस्करी अन्त्य गर्न लागेको दाबी पनि सांसद दाहालको छ ।



प्रतिक्रिया दिनुहोस्