Logo

एमाले सांसदको प्रश्न— सीआईबीसँग प्रधानमन्त्री प्रचण्डको बयान लिने हिम्मत छ ?



काठमाडौं, २८ साउन । नेकपा एमालेका सांसद र पूर्वमन्त्री राजेन्द्र राईले सदनको अवरोध सत्तापक्षले नै गरेको आरोप लगाएका छन् ।
‘सदनको अवरोध हामीले गरेका होइनौं । सरकारले नै अवरोध गरेको हो, कहिले खुलाउने त्यो सरकारकै जिम्मामा छ । सुनकाण्डको सत्यतथ्य पत्ता लगाऊँ भन्दा संसद अवरोध गरेको भन्न मिल्छ ? हामी त उच्चस्तरीय छानबिन समिति बनाएर तत्काल सदन खोल्न लागिपरेका छौं । सदन खोल्ने नखोल्ने सरकारकै दायित्व हो,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको संवादमा उनले भने ।
सांसद राईले सुन तस्करीमा सरकार नै मुछिएकाले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन गर्न नसक्ने ठोकुवा गरे । उनले भने,’ यो भ्रष्ट सरकार हो । होइन भने सुनकाण्डको सत्यतथ्य पत्ता लगाऊँ भन्दा ऊ किन भाग्नु ? किन डराउनु ? सुनकाण्डमा सरकार नै दोषी छ ? सीआईबी भनेको सरकार अन्तर्गतको निकाय हो । सीआईबीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको बयान लिने हिम्मत छ ?’ साथै उनले छानबिन समिति नबनाएसम्म सदन नचल्ने बताए ।



प्रतिक्रिया दिनुहोस्