Logo

सत्तापक्षका सांसदहरू आफ्नै हातमा हतकडी लाग्छ जस्तो गरिरहेका छन् : एमाले प्रमुख सचेतक



काठमाडौं । प्रतिनिधिसभामा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सदनलाई सत्तापक्षले नै बन्धक बनाएको दाबी गरेका छन् ।
‘बाहिरबाट हेर्दा एमालेले गरेको जस्तो देखिए पनि यथार्थमा संसद्लाई बन्धक बनाउने काममा सत्तापक्षको हर्कत नै मुख्य जिम्मेवार छ ।

हामीले रहर लागेर सदन अवरुद्ध गरेको हो र ? हामीले उच्चस्तरीय छानबिन समिति बनाऊँ भन्दा सरकार टसको मस भएको छैन ।  सुनेको नसुन्यै गरिरहेको छ । सत्तापक्षका सांसदहरु आफ्नै हातमा हतकडी लाग्छ भनेजस्तो गरेर बोलिरहेका छन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग गिरीले भने । सुशासनको नेतृत्व गर्नुपर्ने कांग्रेस सानातिना भरियालाई समातेर ठूला तस्करहरुलाई उन्मुक्ति दिने माओवादीको लहैलहैमा लागेको आरोप पनि उनले लगाए ।

एमाले प्रमुख सचेतक गिरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्वतन्त्र ढंगले काम गर्ने वातावरण नभएको दाबी गरे । उनले भने, ‘तस्करीको सुन माओवादीका नेता कृष्ण महरा र राहुल महराको खुलेआम घर लगेको स्पष्ट देखिन्छ । तर उनीहरुको बयान लिइएन । बरु त्यसको विरोध गरेको हुनाले बिना पुर्जी एक सांसदलाई पक्रेर ल्याऊ भन्यो सरकारले । सुन तस्करीमा सीआईबीले राजनीतिक तहको संलग्नता भएकाले यसको अनुसन्धान सीआईबीको बुतामा छैन । हामी कुनै पनि हालतमा कसैसँग सम्झौता गर्दैनौं ।’ एमालेले उच्चस्तरीय छानबिन समितिको माग गर्दै १० साउनदेखि लगातार संसद् अवरोध गरिरहेको छ ।

सदनभित्र आफ्ना माग सुन्ने परिस्थिति नबने सडकमा जाने चेतावनी पनि गिरीले दिए । उनले भने, ‘नेकपा एमाले जनताप्रति जवाफदेही पार्टी हो । जनताको मुद्दामा एमाले मूकदर्शक र अनदेखा गरेर बस्न मिल्छ ? आवश्यक पर्दा सदनमा मात्र होइन माइतीकघरको सडकमा पनि जानुपर्छ ।’ सभामुख देवराज घिमिरे नेकपा एमालेबाट निर्देशित भएको भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभिव्यक्ति उचित नभएको उनको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस्