Logo

सुन तस्करी लगायत सबै काण्डको विशेष छानबिन गर्नुपर्छ : सांसद पौडेल



काठमाडौं, ३१ साउन । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले सुनकाण्ड छानबिन गर्न साझा सहमति भए पनि प्रक्रियामा कुरा नमिलेको बताएका छन् ।
‘संसद् अवरोध गरिरहने हठ जसले गरे पनि गलतै हो । संसद् बन्द गर्न पाउने कुरा नियमावली, विनियममा कतै छैन । एमाले यसरी प्रस्तुत हुनु स्वभाविक होइन । भारी बोकेका भेटिए, बोकाउने भेटिएका छैनन् । सुनकाण्डको मुद्दागत आधारमा छानबिन गर्नुपर्छ भनेर सबैले भनिरहेकै छन् । छानबिनमा कसैको विमति छैन, प्रक्रियाको कुरा मात्र नमिलेको हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
सांसद पौडेलले आफूले सुन तस्करी लगायत सबै काण्डको विशेष छानबिन गर्नुपर्ने कुरा कांग्रेस संसदीय दलको बैठकमा राखेको औंल्याए । उनले भने, ‘एमालेले गलत मुद्दा उठाएको हामीले भनेका छैनौं, संसद् अवरोध गर्नु गलत हो भनिरहेका छौं । संसदीय दलको बैठकमा मैले संविधानको धारा २६ अनुसार सबै खाले भ्रष्टाचार काण्डको छानबिन गर्ने प्रस्ताव संसद्मा लगौं र गठबन्धनले त्यो नमाने सरकारलाई दिएको समर्थन फिर्ता लिऊँ भनेको पनि हुँ । भलै यसबारे संसदीय दलमा निर्णय हुन सकेन । पूर्वप्रधानन्यायाधीश, बहालवाला न्यायाधीश, विज्ञ, प्राविधिक एवं जानकार रहने समितिलाई थप अधिकार चाहिने पनि उनले औंल्याए ।’
पटकपटक सुन तस्करी माथिल्लो नेतृत्वको मिलेमतोबिना सम्भव नहुने पनि नेता पौडेलले बताए । उनले भने, ‘अहिलेको सरकारको नेतृत्वले भ्रष्टाचारमा निर्मम ढंगले प्रस्तुत हुनुलाई प्रमुख उपलब्धि मानेको स्थिति छ । तर, सुन सियो होइन, एक्लै हिँडेर आउँदैन, सीसी क्यामरा, एक्सरे मेसिन, कर्मचारी सबैसँग कुरा नमिलीकन आउन सक्दैन भन्ने कुरा जगजाहेर छ । त्यसैले हामी सरकारमा रहने हो भने केही न केही गर्नैपर्छ ।’



प्रतिक्रिया दिनुहोस्