Logo

एमाले एक सेकेन्ड पनि संसद् अवरोध गर्ने पक्षमा छैन : सचेतक



काठमाडौं, ३ भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसद्को गतिरोध खोल्ने सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच औपचारिक कुराकानी नभएको बताएका छन् । साथै उनले सरकारको अडानकै कारण संसद् अवरोध भएको जिकिर गरे ।
‘आजबाट संसद् खोल्ने भन्ने सम्बन्धमा हामीलाई कुनै औपचारिक जानकारी छैन । तर हामी पनि सरकारले पहल कदमी लिएर आजको बैठकमा वातावरण बनाओस् भन्ने चाहन्छौं । हिजो प्रधानमन्त्रीले हाम्रा पार्टी अध्यक्षसँग कुरा गर्दै हुनुहुन्छ भन्ने सूचना पाएका थियौँ । अनौपचारिक गफ गरेको भए बेग्लै कुरा होला । अन्यथा त्यस्तो कुनै कुराकानी भएको छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने, ‘तर सरकार यति धेरै अटेरी भएर बस्नुपर्ने कारण छैन । हामी एक सेकेन्ड पनि गतिरोध गर्ने पक्षमा छैनौं,’
सरकार संसद्प्रति उत्तरदायी हुन नसकेको आरोप पनि उनले लगाए । बर्तौलाले भने, ‘सुन तस्करीका बारेमा प्रतिपक्षका सांसदले मात्र होइन, सत्तापक्षका सांसदहरूले समेत प्रश्न गरिरहनुभएको छ । तर सरकार संसद्प्रति उत्तरदायी भएन । सांसदले प्रश्न उठाउँदा सरकार पिठ्युँ फर्काएर भागिरहेको छ ।’
संसद् अवरोधले नेकपा एमालेभित्र कुनै असन्तुष्टि नभएको पनि बर्तौलाको जिकिर छ । उनले भने, ‘हो, संविधान, कानुन र नियमावलीमा यति लामो समयसम्म संसद् अवरोध हुन्छ भनेर कतै लेखिएको छैन । तर कतिपय कुरा अभ्यासबाट सञ्चालन हुन्छ । हामीले उठाएको मुद्दाको औचित्य पुष्टि गरेका छौं । उपनेता सुवासचन्द्र नेम्बाङले पनि त्यही भन्नुभएको हो । यो असन्तुष्टि हो भन्ने लाग्दैन ।’



प्रतिक्रिया दिनुहोस्