Logo

भारतीय बाँधमा फसेका १० जनालाई सकुशल उद्धार



नयाँदिल्ली, ४ भदौ । भारतको उत्तरी राज्य हिमाञ्चल प्रदेशमा बाँधको जलाशयमा फसेका १० जनालाई सोमबार बिहान उद्धार गरिएको अधिकारीहरुले बताएका छन् ।

हिमाञ्चल प्रदेशको राजधानी शिमलाबाट करिब ९४ किलोमिटर उत्तरमा पर्ने मण्डी जिल्लाको कोल्दाम जलविद्युत परियोजना जलाशयमा आइतबार साँझ उनीहरु चढेको डुङ्गा फसेको थियो । लगातारको वर्षाका कारण बाँधको जलाधार क्षेत्रमा पानीको बहाव बढेको हो ।

अधिकारीहरुका अनुसार फसेका मानिसहरुको उद्धारका लागि तत्काल प्रयास सुरु गरिएको थियो र स्थानीय समयअनुसार सोमबार बिहान तीन बजेतिर उद्धार कार्य सम्पन्न भएको छ ।

भारतको विपद् प्रतिकार्य एजेन्सीले एक विज्ञप्तिमा भनेको छ, “वन विभागका अधिकारीसहित १० जना सवार मोटरबोट मण्डीको कोल्दाम हाइड्रोपावर स्टेसनमा फसेको थियो ।

नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) ले प्राधिकरणको स्टिमरको सहयोगमा डुङ्गालाई बाँध बाहिर निकालेको छ र उनीहरूलाई सकुशल उद्धार गरेको छ ।”

गत साता हिमाञ्चल प्रदेशमा भारी वर्षाका कारण आएको पहिरो, अचानक आएको बाढी र घर भत्किँदा ७० जनाभन्दा बढीको मृत्यु भएको थियो । लगातारको वर्षाका कारण केही बाँधमा पानीको सतह पनि बढेको छ । यस वर्षको मनसुनी वर्षाले राज्यमा आतङ्क मच्चाएको छ ।

हिमाञ्चल प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार जुन २४ देखि आइतबार साँझसम्म राज्यभर वर्षासँग सम्बन्धित घटनामा ३४१ जनाको मृत्यु भएको छ भने ३२७ जना घाइते भएका छन् । यसबाहेक अन्य ३८ जना बेपत्ता भएका छन् ।

यसैबीच भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले आगामी दुई दिन उत्तराखण्ड, हिमाचल प्रदेश र उत्तरपश्चिम उत्तर प्रदेशमा अत्यधिक वर्षाको सम्भावना रहेको जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्