महोत्तरी, ६ भदौ । पानीबिना छट्पटाएका यहाँका सर्वसाधारणलाई अब बल्ल राहत मिलेको छ । गत साउन अन्तिम साताको वर्षाले प्रशस्त चिस्यान बनेर भदौ लागेपछि पनि पानी परिरहेपछि पानीका स्रोतका मुहान रसाउँदै आएपछि राहत मिलेको हो ।
अहिले भदौ पहिलो साता बित्दै गर्दा यसअघि सुकेका इनार र चापाकल चल्न थालेका छन् । त्यसैगरी खोल्साखोल्सीका मुहानमा पानी रसाएर बढ्दै गएपछि अब खानेपानीको सङ्कट टर्दै गएको यहाँका सर्वसाधारणको भनाइ छ । “बस्तीका सबै चापाकल र इनार सुकेर खानेपानीको हाहाकार परेको थियो”, भङ्गाहा–४ रामनगरका २५ वर्षीय सद्दाम राइन भन्छन्, “अब सबैजसो इनारमा पानी भरिँदै आएको र चापाकल पनि चल्न थालेका छन् ।”
गत साउन तेस्रो सातासम्म पानी नपर्दा आफ्नो बस्तीका एक सय ५० चापाकल र ५० भन्दा बढी इनार सुकेर खानेपानीकै हाहाकार परेको राइनले सम्झे । “अब पानी राम्ररी रसाएको छ, लगातार अडिलो पानी परिरहेको हुँदा प्रशस्त चिस्यान छ, अब यो वर्षलाई खानेपानीकै सङ्कट नपर्ला”, राइनकै छिमेकी रामबाबु महतोले विश्वस्त हुँदै भने ।
गत साउन अन्तिम साताको वर्षाले ठाउँठाउँमा कच्चीघर लडाएर दुःख दिए पनि भदौ लागेपछि मन्द वर्षा भइरहँदा खानेपानीका स्रोतका मुहान रसाएर भरिँदै आएका छन् । भदौ पहिलो साताको वर्षाले रूख बिरुवा, भदैया (भदौरे) तरकारीका बोट/लहरा र धानकै रोपो पनि लहलहाएको देखिदा सन्तोस लाग्ने गरेको किसान बताउँछन् । पछिल्लो वर्षा उखु, कोदो, हिउँदे तीलसहितका बालीलाई अमृत नै बनेको बर्दिवास नपा–९ पशुपतिनगरका ४० वर्षीय अमृतकुमार महतोको भनाइ छ ।
“पछिल्लो लगातारको वर्षाले इनार, चापाकल र बोरिङसहितका पानीका स्रोतका मुहान राम्ररी रसाएका छन्”, भङ्गाहा–४ थारुटोल वनराका ७० वर्षीय किसान रामधारी सिंह थारू भन्छन्, “अहिलेको पानी पराइ मन्दमन्द र अडिलो भएको हुँदा बालीलाई अमृत सरह बनेको छ ।”
यसैगरी जिल्लाको सुदूर उत्तरवर्ती चुरे र यसका शृङ्खलाबाट निस्कने नदी, खोल्साखोल्सी र झोराहरुमा अब पानी रसाउँदै आएका यस भेगका बासिन्दाको भनाइ छ । बर्दिबासका १४ मध्ये १० बस्ती र गौशाला नगरपालिकाका उत्तरवर्ती १० भन्दा बढी बस्तीहरुमा जडित खानेपानीका धाराको स्रोत यिनै नदी, खोल्साखोल्सी र झोरा हुन् ।
लामो खडेरीले यस्ता स्रोतका मुहान सुक्दै जाँदा खानेपानीको हाहाकार बढ्दै गएको थियो । साउन अन्तिम साता प्रारम्भसँगै पर्न थालेको पानीले अब मुहानमा राम्ररी पानी रसाएको हुँदा भण्डारण टङ्कीमा पानीको अभाव नहुने बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव उदयबहादुर भण्डारी बताउछन् ।
“पछिल्ला बितेका झन्डै चार महिना (वैशाखदेखि साउन तेस्रो सातासम्म) धेरै कष्टमा बिते, भण्डारण टङ्की रित्तिने डर थियो, धेरै दुःखले पानीको जोहो गरियो”, भण्डारी भन्छन्, “अब पछिल्लो वर्षाले नदी, खोल्साखोल्सी र झोराका मुहानमा पानी राम्ररी रसाएको छ, खानेपानीको कमी अब हुँदैन ।”
यसपालि जिल्लाका सुदूर उत्तरवर्ती र मध्यउत्तरवर्ती भेगमा मात्र नभई मध्य र दक्षिणवर्ती भेगमा पनि खानेपानीको हाहाकार परेको थियो । भारतीय सीमासँग जोडिएको जिल्ला सदरमुकाम जलेश्वरमै केही दिन चापाकल सुक्दा ट्याङ्करबाट पानी ओसारेर घरघरमा खानेपानीको जोहो गर्नुपरेको जलेश्वर–२ का वडाअध्यक्ष बरुण दाहाल सम्झन्छन् ।
साउन तेस्रो सातासम्म जिल्लामा २५ प्रतिशत नपुगेको रोपाइँ अब झन्डै ५० प्रतिशत नाघेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यसपालि लामो खडेरीले ब्याड राख्ने समयदेखि नै किसानले पानीको अभाव खेप्दै आएका थिए । ढिलो वर्षा हुँदा बीउ र जनशक्तिको अभाव खेप्दै किसानले निकै हन्डरले साउन अन्तिम साता र अहिले भदौ पहिलो साता बित्दै गर्दा पनि टाढाटाढाबाट धानको खरुअन ९कलम० खोज्दै धान रोप्दैछन् ।
स्थानीय जातको धानको खरुअन (बीउ रोप गाँजिएपछि त्यो उखलेर फेरि रोपिने बीउलाई खरुअन भनिन्छ, कलम) भेट्टाइँदा मध्य भदौसम्मै रोप्न सकिने पाका किसान बताउँछन् । अब खेतका गरा पानीले टन्न भरिएका हुँदा अन्य सुक्खा बाली लाउन पाइने छाँट नभएपछि टाढाटाढासम्म खरुअन खोजेर भए पनि धान रोप्न बल गरिएको बलवा–१० धमौराका काशिम राइन बताउछन् ।
जिल्लामा कूल करिब ७१ हजार हेक्टर कृषियोग्य जग्गामध्ये करिब ५० हजार हेक्टर धानखेतीका लागि उपयुक्त मानिन्छ । करिब ९० प्रतिशत जग्गा आकासे पानीकै भरको हुँदा यसपालि लामो खडेरीले धान रोपाइँ पछि परेको हो ।
पछिल्लो वर्षाले अब नदी किनारका उकास चउरमा घाँस पलाएपछि गाईवस्तुको चरन हुने किसानको भनाइ छ । यसैगरी आँप, लिचीसहितका फलपूmलका रूखमा लागेका जालो, हाँगापातका कालो धब्बा वर्षाले पानीले पूरै पखालिँदा यस्ता बोट चहकिला देखिएका छन् । यो वर्षाले खुल्ला चउर, कच्ची सडक र हाटबजार क्षेत्रको धुलो मज्जाले भिजाएको हुँदा अब धुलो नउड्ने सर्वसाधारण बताउँछन् । रासस