काठमाडौं, ७ भदौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक रुपमा अब माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग सँगै जान नसकिने बताएका छन् । यद्धपी उनले आफू र प्रचण्डबीच व्यक्तिगत रुपमा सधैं राम्रो सम्बन्ध रहेको स्पष्ट पारे ।
हिजो (बुधबार) राति प्रशारण भएको ‘टफ टक’ कार्यक्रममा पत्रकार दिलभुषण पाठकसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । अन्तर्वार्ताको दौरान पत्रकार पाठकले टुटेको सम्बन्ध हुँदाहुँदै चुनाव ताका कुन रुपमा तपाईँसँग नजिकिनुभयो? अब म चितवनमा चुनाव हार्छु भन्ने बुझेर आउनुभयो ? भनेर सोधेका थिए । जवाफमा भट्टराईले भने–‘उहाँ क्रिएटिभ मान्छे चाहीँ हो फेरि । अरु भएका नेताहरुमध्ये फेरि अलिक डाईनामिक, क्रिएटिभ मान्छे चाहीँ हो । हामी समकक्षी पनि भयौं । हाम्रा बीचमा धेरै अन्तरंग कुराकानीहरु पनि भएका छन् ।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल अब सत्तामुखी बढि भएको आरोप लगाए । उनले भने,‘१० वर्षदेखि त उहाँ खाली सत्तादेखि सत्तामा हुनुहुन्छ । त्यसले उहाँलाई अलिक पर पुर्याएछ । त्यो चाहीँ मलाई थाहा थिएन । बीचमा मेरो पनि उहाँसँग ८ वर्ष ग्याप भयो नि । एमालेसँगको सम्बन्ध टुटेर गएपछि र उहाँको शक्ति खस्किँदै गएपछि त्यो बेलामा उहाँले अलिक रियलाईज गर्नुभएको थियो कि जस्तो पनि मलाई लाग्यो । ल ठिकै छ नि त, तपाईँ अगाडि बढ्नु्होस म साथ दिन्छु तपाईँलाई भनेकै हो । तर, यो ५ महिना मैले उहाँसँग जुन संगत गरें, उहाँ सत्ता लिप्सामा बढि टाँसिनुभएको रहेछ । त्यसैले यो मिसनतर्फ उहाँ अग्रसर हुनुहुन्छ जस्तो मलाई लाग्दैन् ।’