काठमाडौं, ८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले एकथरी मान्छेहरु आफू नेतृत्वको सरकारलाई विस्थापित गर्न लागिपरेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री दाहालले आफूले राम्रो काम गरेवापत हटाउन लागिएको गुनासो गरेका हुन् ।
उनले अहिले देशमा केही राम्रो हुने सम्भावना रहेको सुनाए । उनले भने–‘देशमा केही राम्रो हुने सम्भावना छ । त्यसो भएको हुनाले अहिले राम्रो हुन थालेको हुनाले एकथरी मान्छेहरु आतंकित छन् । विक्षिप्त छन् । के गरी यो गठबन्धन ढलाउने भनेर ? के गरी यो प्रचण्डको नेतृत्वको सरकार सिध्याउने भनेर रातदिन धुप हालेर हिँड्या छन् ।’
समाजवादी मोर्चा, नेपालले आयोजना गरेको पहिलो सन्देश सभालाई आज (शुक्रबार) पर्साको वीरगन्जमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले आफूले नै विशेष ध्यान दिएर तस्करी भएर आएको ठूलो परीमाणको सुन पक्राउ गरेको दाबी गरे । उनले भने,‘अहिले त पक्रिएरबापत दण्डित हुनुपर्नेजस्तो, बरु छोडेको भए केही पनि हुने थिएनजस्तो । त्यसैले यो कुरा हामी सबैले गहिरोगरी बुझ्न जरुरी छ ।’ उनले आफूले सधैं भन्ने गरेको भन्दै राम्रो गर्नुबाहेक अरु कुनै कारण नै नभएको बताए ।
उक्त सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाललगायत मोर्चाका नेताहरुले सम्बोधन गरेका छन् । सो सभाको व्यवस्थापन भने उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले गरेको हो । समाजवादी मोर्चाको सचिवालय बैठकले नै सात वटै प्रदेशमा सन्देश सभाको आयोजना गर्ने निर्णय गरेको थियो । तस्विर : प्रदीपराज वन्त/प्रम दाहालको सचिवालय
https://www.facebook.com/prachanda.nepal/videos/840630970589129