Logo

प्रचण्डजी जिन्दगीभरि प्रधानमन्त्री हुन त पाउनुहुन्न होला : प्रदीप पौडेल



काठमाडौं, १० भदौ । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तटस्थता देखाउन नसकेको आरोप लगाएका छन् ।
‘ललिता निवासको नीतिगत निर्णय प्रक्रियामा आबद्धहरुलाई फेरि पनि छुट दिएपछि आम जनतामा अनेकन् असन्तुष्टि छाएको छ । निर्णय गर्ने व्यक्ति दोषी हुन्छ कि कार्यान्वयन गर्ने व्यक्ति ? जतिसुकै माथिल्लो तहको व्यक्ति भए पनि बयान लिनुपर्छ, दोषका आधारमा मुद्दा चल्नुपर्छ । यहाँ त तटस्थता देखिएन । विभेद गरेजस्तो देखियो । नीतिगत निर्णयले नै अनियमितताको आधार निर्माण गरेको हुन्छ । क्याबिनेटको मन्त्री दोषी हुने, अध्यक्षता गर्ने चाहिँ प्रधानमन्त्रीले चाहिँ अनुसन्धानमा आउनै नपर्ने स्थिति हुन्छ र ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता पौडेलले ललिता निवासलगायतका सबै भ्रष्टाचार र अनियमितता काण्डको छानबिन गर्न माग गरे । उनले थपे, ‘अहिले मेरो पार्टी सरकारमा छ । तर, पार्टीको सम्पूर्ण कुरामा मेरो कन्ट्रोल हुँदैन । त्यसैले बहस उठान गर्नु पनि ठूलो कुरा मान्नुपर्छ । हामीले संसद् र संसदीय दलमा यो विषयलाई प्रवेश गराउन खोजिरहेका छौं । उठाएका छौं । सबै भ्रष्टाचारका काण्डको छानबिन गरिनुपर्छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले खोलिएका फाइल टुंगोमा पुर् याउनुभन्दा उन्मुक्ति दिन खोज्नु गलत भएको पौडेलले औंल्याए । उनले भने, ‘अहिले गर्नुपर्ने काम नै भ्रष्टाचारको सबै फाइल टुंगो पुर् याउनु पर्ने हो । यसो गर्दा प्रधानमन्त्रीको पद धरापमा पर्दैन । प्रचण्ड केही गर्न त प्रधानमन्त्री हुनुभएको होला । अवसरलाई सम्पूर्ण रुपमा प्रयोग गर्दा इतिहासले उल्लेखनीय पात्रका रुपमा चिन्छ नि । नत्र सरकारमा कति बसिरहने ? जिन्दगीभरि सत्तामा बस्न त पाइँदैन होला । अहिले खोलिएका फाइल टुंग्याएर छोड्नुभयो भने तपाईंलाई कसैले निकाल्न सक्दैन ।’
अर्को प्रसंगमा नेता पौडेलले कोशी प्रदेशमा सत्ताकेन्द्रित काम मात्र हुँदा आम जनतामा निराशा, व्यवस्थाप्रति अविश्वास र नेतृत्वप्रति घृणा बढाएको टिप्पणी गरे । उनले भने, ‘सवैधानिक व्यवस्थाले हुँदैन भनेको कुरा पटक पटक गर्दा हाम्रो पार्टीप्रति नै अविश्वास हुने स्थिति देखा परेको छ । सत्ताप्राप्तिभन्दा संवैधानिक व्यवस्था अक्षुण्ण राख्नुपर्छ । देखादेखी संविधान उल्लंघनलाई सही भनेर डिफेन्ड गर्न सकिँदैन । सत्ता टिकाउने नाममा मनपरी गर्न मिल्छ ? पार्टीको छविमा यसरी दाग लाग्न दिनुहुँदैन ।’ समाजमा कसैको आस्थामाथि खुला ढंगले प्रहार गर्न खोज्ने अराजक प्रवृत्तिलाई पूर्ण रुपमा निरुत्साहित गर्नुपर्ने पनि उनले औंल्याए ।



प्रतिक्रिया दिनुहोस्