काठमाडौं, ११ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले अहिलको सरकारले देशमा समृद्धि सुशासन र सामाजिक न्याय चाहेको बताए । प्रतिगनको खतराको विरुद्धमा गठबन्धन सरकार बनेको उनको भनाई छ । ‘अहिलेको प्रतिगमनको खतराको विरुद्धमा गठबन्धनको सरकार छ । यो गठबन्धनको सरकार सम्पूर्ण लोकतन्त्रवादीहरु जो यो देशको समृद्धि चाहन्छन्, यो देशमा सुशासन चाहन्छन्, सामाजिक न्याय चाहन्छ ।’ उनले भने, ‘देशलाई नयाँ ठाउँमा लानका लागि लोकतन्त्र र गणतन्त्रलाई संस्थागत, समानुपातिक, समावेशी धर्म निरपेक्षतालाई संस्थागत गर्ने र नेपाली जनताको भविष्य सुनिश्चित गर्न वर्तमान सरकार दत्तचित्त छ ।’
उनले वर्तमान सरकार विभिन्न भ्रष्टाचारविरुद्धमा उभिएको बताए । अहिलेको सरकार लोकतान्त्रिक सरकार भएकाले आफ्नो उद्देश्यलाई आत्मसाथ गरेर जाने उनको भनाई छ । वर्तमान सरकारसँग कानुको शासन चाहनेहरु कोही पनि आत्तिन नहुने उनले बताए ।
‘नेपालमा लामो समयदेखि दण्डहीनताको अवस्था थियो । आम नेपाली जनता वाक्कदिक्क थिए । नेपालमा कानुन क्रियाशील थिएन । संविधान कार्यान्वयनमा ढिलाई भएको थियो । वर्तमान सरकारले काम सुरु गरेको छ । कानुनको सशान र विधिको शासन चाहनेहरु आत्तिन हुँदैन,’– नेता प्रधानले भने ।
सरकारले ठीक गरेको छ कि बेठीक गरेको छ भनेर वस्तुनिष्ठ ढंगले टिप्पणी गर्न जरुरी रहेको बताउँदै उनले काल्पनिक ढंगले मनगढन्ते कुरा गरेर आरोप लगाउनुको कुनै औचित्य नरहेको बताए । उनले लामो समयदेखि देश र जनताको विरुद्धमा भएका भ्रष्टाचारहरुका विरुद्धमा खबरदारी गर्न जरुरी रहेको बताए । सरकारले सामाजिक न्याय र समृद्धिको पक्षमा सरकारले काम गरिरहेको उनको भनाई छ । आज मुलुकमा प्रतिगमन र संविधान विरोधी तत्वहरुको चुनौति रहेको उनले बताए ।
‘आज मुलुकमा प्रतिगमनको चुनौति छ । संविधान विरोधीहरुको चुनौति छ र संविधानले अंगिकार गरेको नेपालको समृद्धि र समाजवाद उन्मुख मार्गमा अवरुद्ध गर्नेहरुको चुनौति छ,’– उनले भने । वर्तमान सरकारले कानुनी शासन, मानव अधिकार, सुशासन , संविधानको म्यान्डेट र नेपाली जनताको म्यान्डेटको आधारमा आफ्नो कार्य कुशलता देखाउँदै गएको उनको भनाई छ । उनले सरकारको काम कारबाहीका आम जनताले समर्थन गर्न जरुरी रहेको बताए ।
कुनै पनि प्रकरणमा कुन मुद्दा लाग्ने वा नलाग्ने भन्ने कानुनअनुसार हुने बताए । कसैले चाहेर, कसैमाथि प्रश्न उठाएर मुद्दा नलाग्ने उनले बताए । अनुसन्धानको आधारमा अभियोजन गर्ने बताउँदै उनले कसैले कसैलाई उजुरी दिँदैमा राज्यले भटाभट कारबाही गर्न नसक्ने उनले बताए ।
उनले अहिले ललिता निवास प्रकरणको अभियोजनको बारेमा उठेको प्रश्नमा अदालतले निरुपण गरेर न्यायिक निष्कर्षमा पुर्याउनले बताए । उनले सुन प्रकरणमा माओवादीका उपाध्यक्ष कृणबहादुर महरामाथि लागेको आरोपमा प्रमाण पुगेको खण्डमा कारबाही हुने बताए । नेता प्रधानले संविधान र कानुनको उल्लङ्घन गरेर जनता र देशमाथि खेलवाड गर्ने छुट कसैलाई पनि नरहेको बताए ।
‘माओवादी पार्टीभित्र के–कस्ता कसुर गर्ने मान्छे छन् ? प्रमाण पुर्याउनुस् कारबाही गर्न सक्नुहुन्छ भनेर अध्यक्षले पनि भनिसक्नु भएको छ । हाम्रो पनि धारणा त्यही हो,’– उनले भने ।