बागलुङ, भदौ १२ । बागलुङको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका घरबास (होमस्टे) बर्खा सुरु भएदेखि पाहुना नआउँदा सुनसान बनेका छन् । गत असारदेखि नै जिल्लामा पर्यटकको आगमनमा कमी आएको बताइएको छ ।
घरबास सञ्चालकका अनुसार गत साउनदेखि घरबासमा पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको हो । घरबासमा पाहुना आउन छाडेपछि सञ्चालकसमेत खेतबारीको काममा व्यस्त भएका छन् ।
पर्यटकीयस्थल वरपर सञ्चालनमा आएका घरबासले आगन्तुकलाई सहज हुनुका साथै स्थानीयलाई रोजगारको अवसर पनि मिलेको छ । अहिले घरबास मात्रै होइन, जिल्लाका पर्यटकीयस्थल पनि सुनसान जस्तै छन् ।
जिल्लाको चर्चित घरबासमध्येको काठेखोला गाउँपालिका–३ धम्जास्थित बेलढुङ्गा सामुदायिक घरबास, अतिथि सत्कार घरबास भकुण्डेलगायतमा पाहुना कम पुग्ने गरेका छन् ।
बागलुङ बजार आसपासको बागलुङ कालिका मन्दिर, बागलुङ–पर्वत जोड्ने नेपालकै लामो झोलुङ्गे पुल, पञ्चकोट र शालिग्राम सङ्ग्रहालयबाहेक अन्य स्थलमा कम आगन्तुक पुगेको पाइन्छ ।
पश्चिम बागलुङको ढोरपाटन र पातीहाल्नेमा पुग्ने पर्यटकको सङ्ख्यामा पनि कमी आएको छ । बेलढुङ्गा सामुदायिक घरबासका सञ्चालक गोपाल श्रीसले असोज लागेपछि मात्रै घरबासमा पर्यटकको आगमन बढ्ने बताए । उनले भने, ‘असारदेखि हालसम्मका हरेक महिना फाट्टफुट्ट पाहुना आएको छन् ।’
बर्खाका कारण बेलढुङ्गासम्म पुग्ने सडकको विभिन्न स्थानमा पहिरो गएको र बाटोमा घाँस पलाउँदा पाहुना कम आएको उनको भनाइ छ । गाउँसम्म पुग्ने सडक व्यवस्थित बनाउन नसक्दासम्म बर्खामा घरबास र पर्यटकीयस्थलमा पर्यटक भित्र्याउन नसकिने उनको भनाइ छ ।
घरबासमा आउने पाहुनालाई पूरै अर्ग्यानिक उत्पादन खुवाउने उनको भनाइ छ । उनले यहाँ विशेषगरी कोदोको ढिँडो, स्थानीय कुखुरा, खसी, बोकाको मासु, बाँकोको गुन्द्रुक र आलुका परिकार खुवाइने गरेको बताए ।
बागलुङ नगरपालिका–१० भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक घरबासको सञ्चालक मुना थापामगर अहिले पाहुनाको आगमन निकै कम भएको बताए । बर्खामा बादल लाग्ने र दृश्यावलोकन गर्न नपाइने हुँदा पर्यटक कम पुग्ने उनको भनाइ छ ।
बागलुङ बजारबाट यहाँ पुग्न करिब डेढ घण्टा लाग्छ । उनले कहिलेकाहीँ मात्रै पाहुना घरबासमा बस्न आएको बताए । तीज सुरु भएपछि पर्यटक बजारबाट भकुण्डे उक्लिन थाल्ने उनको भनाइ छ ।
प्राकृतिक सुन्दरताले भरिएको भकुण्डेमा ताल, र दर्जनौँ हिमशृङ्खला अवलोकनका लागि पर्यटक यहाँ पुग्ने गर्छन् । हिउँदमा राम्रो चल्ने हुँदा स्थानीयको आयआर्जनको स्रोत घरबास बनेको छ ।
घरबासले ग्रामीण क्षेत्रका महिलालाई सक्रिय भई पाहुनासँग बोल्न, सत्कार गर्न र स्थानीय कला संस्कृति प्रदर्शन गर्न सक्ने भएका छन् । जिल्लाको विभिन्न स्थानमा घरबास सञ्चालनमा आएपछि मौलिक कला, संस्कृतिको जगेर्नासमेत हुन थालेको छ । रासस