काठमाडौं, भदौ १३ । सिरहाको धनगढीमाई नगरपालिका–१४ सर्रे अम्बासमा बस्ने नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकमा सहभागी हुन जनकपुर उडेका नेकपा (एमाले) का नेताहरू चढेको बुद्ध एयरको जहाज जनकपुर अवतरण हुन नसकी काठमाडौं फर्किएको छ।
बैठकमा सहभागी हुन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरासहित, विष्णु रिमाल, प्रदीप ज्ञवाली लगायतका नेता बुद्ध एयरमार्फत् जनकपुर जाँदै थिए।
अवतरण हुनुभन्दा केही समय अगाडि विमानमा प्राविधिक खराबी आएपछि जहाज पुनः काठमाडौँ फर्किएर अवतरण गरेको छ । जहाजमा ६८ जना यात्रु रहेका थिए । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका नेताहरुलाई अर्काे उडानमार्फत जनकपुर पठाईएको बुद्व एयरका प्रवक्ता दिपेन्द्र कर्णले जानकारी दिए । प्राविधिक समस्याका कारण काठमाडौँ फर्किएको जहाजको प्राविधिकहरुले चेकजाँच गरिरहेको उनले बताए ।