Logo

उदयपुरका नेवार समुदाय लाखे नाच संरक्षणमा



उदयपुर, १४ भदौ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका, कटारी, चौदण्डीगढी र बेलका नगरपालिका क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले प्रत्येक वर्ष मनाउँदै आएको लागे जात्रा आज जनै पूर्णिमादेखि मनाउन  सुरु गरेका छन् ।

नेवा पुचका जिल्ला सचिव गोपाल श्रेष्ठका अनुसार यो नाच नेवार समुदाय बसोबास गर्ने सबै क्षेत्रका आआफ्ना गाउँमा साउन कृष्ण अष्टमीसम्म प्रदर्शन गरिन्छ ।

उनका अनुसार आज त्रियुगा नगरपालिका क्षेत्रको गाईघाट, जोगिदह, चौदण्डीगढीको बेल्टार, बेलका नगरपालिकाको रामपुर लालबजार र कटारी नगरपालिकाको कटारी बजारमा लाखे नाच प्रदर्शन गरिएको छ ।

उक्त समुदायका घरमा यसअघि मृत्यु भएका व्यक्तिको संझनामा घरबाट लाखे नाच सुरु गर्ने गरिएको नेवा पुचका अध्यक्ष हरि श्रेष्ठले बताए ।

पहाडी क्षेत्रको खोटाङ, भोजपुर, ओखलढुङ्गा, काठमाडौँ, ललितपुर र भक्तपुरबाट बसाइँसराई गरेर कटारी, गाईघाट, चौदण्डीगढीको बेल्टार क्षेत्रमा बसोबास गर्दै आएका नेवार समुदायले यो पर्वलाई निरन्तरता दिएका हुन् । रासस



प्रतिक्रिया दिनुहोस्