काठमाडौं,१६ भदौ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले एमसीसी र बीआरआईबाट नेपालले देशको हीत हुनेगरी लाभ लिन सक्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अमेरिकाको आर्थिक सहयोग परियोजना (एमसीसी) र चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’(बीआरआई) बाट देशको हीत हुनेगरी लाभ लिन सक्नुपर्ने बताएका हुन् ।
सरकारले राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै यी मुलुकबाट हुने फाइदा कसरी धेरै लिने ? भन्नेबारेमा गम्भीरतापूर्वक सोच्नुपर्नेमा उनको जोड छ । उनले एमसीसीको बारेमा धेरै चर्चा चलिरहेको र बीआरआईको बारेमा पनि जनतालाई बुझाएर राष्ट्र र जनताको पक्षमा प्रयोग गर्न आग्रह गरे ।
उनले भौगोलिक विकटताका बावजुत पनि उत्तरी नाकाबाट रेल सञ्चालन गर्न सकिने, चीनको मार्ग भएर देशका उत्पादन निर्यात गर्न सकिने बताए । उनले नेपाल वाह्य ऋणबाट मुक्त हुनुपर्ने बताए । सभामुख घिमिरेले राजनीति बाटोबाट देशलाई सम्पन्न बनाउन सकिने भन्दै यसका लागि सबै राजनीतिक दलहरू मिल्नुपर्नेमा जोड दिए ।
सभामुख घिमिरेले दुई ठूला देशबाट नेपालले फाइदा उठाएर अघि बढ्न जरुरी रहेको बताए ।