काठमाडौं,१६ भदौ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफू र महासचिव शंकर पोखरेलकाबीचमा कुनैपनि गुटगत प्रतिस्प्रर्धा नरहेको पष्टीकरण दिएका छन् ।
नेकपा एमालेको आजबाट सुरु लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेलले मिडियाहरुमा आएजस्तो पार्टीमा केपी ओलीको विकल्प खोज्न लागेको भन्ने खबर झुटो भएको पनि जिकिर गरे । पछिल्लो समय पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा फर्काउन लागिपरेको समचारहरु सार्वजनिक भएका थिए । पौडेलले उक्त समचारको खण्डन गर्दै अहिलेनै एमालेमा ओलीको विकल्प खोज्ने समय नभएको बताएका हुन् ।
‘एमालेभित्र नीति र विधिमा कुनै विवाद छैन । यही नीतिले देश विकास हुन्छ’, पौडेलले भने, ‘नेतृत्वको प्रश्नमा पनि विवाद छैन । विवाद होस् भनेर कोसिस भइरहेका छन् । तर ती पानीको फोका हुनेछन् ।’
‘एमालेमा नीति र नेतृत्वको विषयमा कुनै समस्या छैन, हामी नीतिमा स्पष्ट छौँ, नेतृत्वमा केपी शर्मा ओलीको विकल्प छैन, उहाँकै नेतृत्वमा पार्टीले मिसन ८४ बनाएको छ, त्यसमा कोही कसैले कुण्ठित विचार नराखे हुन्छ’ उनले भने ।