Logo

गृहमन्त्री श्रेष्ठलाई हटाए सरकार असफल हुन्छ : डा. सुरेन्द्र केसी



काठमाडौं, १८ भदौ । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हटाईए अहिलेको सरकारको सुशासनको नारा नारामात्रै सिमित हुने र सरकार भ्रष्टाचारीको संरक्षक हुने सनसनीपूर्ण टिप्पणी गरेका छन् । पछिल्लो समय सत्ता गठबन्धनमा गृहमन्त्री श्रेष्ठलाई हटाउने तयारी भएको समाचार बाहिरिएपछि विश्लेषक केसीले गृहमन्त्री श्रेष्ठले धेरै राम्रो काम गरिरहेको अवस्थामा हटाईए सरकार भ्रष्टाचारीको संरक्षक बनेको सन्देश जाने टिप्पणी गरेका हुन् ।

रिपोर्टर्स नेपाल डटकमको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘यस्तो राम्रो काम गरेको बेलामा गृहमन्त्री हटाउने खेलोमेलो सुरु भएको समाचार आएका छन्, यदि ती समाचार सत्य हुन भने प्रधानमन्त्री प्रचण्डको सुशासनको नारा गफमात्रै हो भन्ने बुझ्नुपर्यो । अहिलेका गृहमन्त्री नारायणकाजीले राम्रै काम गरेका छन् ।

उनले सुशासनको सुरुवात गरेका छन् ।’ पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणदेखि सुन तस्करी प्रकरणसम्म आईपुग्दा गृहमन्त्री श्रेष्ठले अनुसन्धानरत प्रहरी अधिकृतहरुलाई स्वतन्त्र र निर्भिक ढंगले काम गर्ने वातावरण बनाएको भन्दै प्रशंसा भैरहेको थियो । तर, यो बीचमा नक्कली भुटानी शरणार्थी प्रकरणमा राम्रो काम गरिरहेका प्रहरी अधिकारीलाई नै सत्ता गठबन्धनका शीर्ष नेताहरुको सहमतिमा सरुवा गरिएपछि भने गृहमन्त्री श्रेष्ठ प्रधानमन्त्री पुष्पकमल दाहालसँग रुष्ट बनेका थिए ।

प्रधानमन्त्री दाहाललाई भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाले भने गृहमन्त्रीलाई हटाउन दबाब दिएको उच्च स्रोतको दाबी छ । प्रधानमन्त्री दाहाल देउवा दम्पत्तिको प्रस्तावबारे सकारात्मक बनेको पनि उच्च स्रोतको दाबी छ । तर, प्रधानमन्त्री दाहालले त्यसको लागि केही साता समय मागेको बुझिएको छ । केसीले गृहमन्त्री श्रेष्ठलाई हटाईए सरकार नै असफल हुने पनि दाबी गरेका छन् ।

file photo



प्रतिक्रिया दिनुहोस्