Logo

मेयरको बालेन शाहको फेशबुक स्टाटसबारे दीक्षितको आपत्ति, गृहमन्त्रालयले स्पष्टीकरण लिनुपर्ने माग



काठमाडौं, १९ भदौ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले  काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहको पछिल्लो फेशबुक स्टाटसको विरोध जनाएका छन् । महानगरको गाडी ट्राफिक प्रहरीले रोकेको भन्दै मेयर शाहले सिंहदरबार नै आगो लगाउने चेतावनी दिएका थिए । यही सन्दर्भमा डा. दीक्षितले यस्तो टिप्पणी गरेका हुन् ।

रिपोर्टर्स क्लब नेपालले आज (मंगलबार) आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. दीक्षितले भने,‘बालेन शाहको पनि आक्रोश देखियो । प्रहरीको अपराध थियो भने, मलाई त त्यो पनि लाग्दैन् । शनिबारको दिन अफिसियल गाडी हिँड्न पाउँदैन् । सिंहदरबार जलाउँछु भन्न पाईन्छ ?हेर्नुहोस, धेरै पहिले सिंहदरबारमा आगो लागेको थियो । किर्तीनिधि विष्ट प्रधानमन्त्री थिए । राजा वीरेन्द्र थिए । सिंहदरबार आगो लागेको कारण किर्तीबाबुले राजीनामा दिनुभयो । सरकारी संरचना त बचाउनुपर्छ । बालेनको मनस्थिति असन्तुलित देखियो । यस्तो पाराले भोलि सुकुम्बासी टोलमा पसेर के गर्ने हो कि ? नाङ्लो पसलेलाई पक्राउ गर्ने हो कि ? उनको ओहोदासँग त्यो स्टाटस सुहाएन । मेयर भनेको सरकारकै अंग हो । गृहमन्त्रालयले स्पष्टीकरण माग्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्