Logo

राप्रपा सरकारमा जाने कुरा हल्लामात्रै हो : राणा (भिडिओसहित)



काठमाडौं, २० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवलशमशेर राणाले नेपालका लागि चिनियाँ राजदूतको अभिव्यक्तिबारे आपत्ति जनाएका छन् । उनले भने,‘चिनियाँ राजदूतले भारतसँगको हाम्रो अर्थतन्त्रको विषयलाई लिएर बोल्नुभएका कुराको म केही व्याख्या गर्न चाहन्छु । कुटनीतिक मान, मर्यादामा र यसको बुझाईमा एउटा राजदूतले अर्को देशको विषयमा नकारात्मक टिप्पणी गर्नुहुँदैन् । झन हामी त दुई वटा विशाल महान आर्थिक रूपले अथवा सबै प्रकारले विशाल देशका बीचमा छौं । नेपाल बडो संवेदनशील परिस्थितिमा कुटनीतिक हिसाबमा रहन्छ । हामीले पञ्चशीलको भावना लिएर हरेक कुरा गर्नुपर्छ । दुवै देशको बीचमा बराबर, सुमधुर सम्बन्ध र सहयोगको भावना, मान, मर्यादा आपसी कायम राख्नुपर्छ । यो हाम्रो आवश्यकत्ता र जरुरत हो ।’

रिपोर्टर्स क्लब नेपालले आज (बुधबार) आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले चिनियाँ राजदूतलाई कुटनीतकि मान र मर्यादामा रहेरमात्र कुरा गर्न चेतावनी दिए । उनले भने,‘म यही क्लबबाट म चिनियाँ राजदूतलगायत सबैलाई आह्वान गर्न चाहन्छु–कुटनीतिक मान, मर्यादामा रहेरमात्रै कुरा गर्नुहोस । हाम्रो सम्बन्ध हामी कुनै देशसँग बिगार्न चाहँदैनौं । नेपाल सरकारलाई पनि के आग्रह गर्न चाहन्छु भने कहीँ कतै त्यस्तो देखियो भने तुरुन्तै हामीले अब्जेक्शन र नोट पठाईहाल्नुपर्छ । कोही रिसाउला, कोही खुशाउला । कसले मन दुखाउला या हाम्रो योजना बिगार्ला भन्ने सोच्नुहुँदैन् । त्यस्तो गर्दै गयौं भने झनझन हामी खाल्डोमा पर्छौं ।’

सो क्रममा उनले चिनियाँ पक्षले तातोपानी नाका खोलेकोमा भने खुशी व्यक्त गरे । उनले भने,‘यो राम्रो पक्ष हो । कोभिडपछि चिनियाँ नाका बन्द थिए । अब विस्तारै खुल्ने क्रम सुरु भएको छ । यो राम्रो कुरा हो ।’ उनले मानसरोवरमा भारतीय मुलका यात्रीहरुलाई अप्ठ्यारो परिस्थिति चिनियाँ सरकारले गरेको टिप्पणी गरे । उनले भने,‘त्यसले नेपालको पर्यटन क्षेत्र र अझै सुदुरपश्चिम र मध्यपश्चिमको पर्यटन क्षेत्रमा ठूलो घात भएको छ । मेरो यही क्रममा चिनियाँ सरकार र राजदूतावाससँग अनुरोध छ–की हिल्साबाट प्रयोग हुने मानसरोवरका यात्रुहरुको लागि अझ त्यसमा प्रष्ट रुपमा भन्दा भारतबाट आउने हिन्दू धर्मालम्वीहरुको लागि पहिलेको जस्तो सहज वातावरण बनाईदिन अनुरोध छ ।’

राणाले भारतीय सरकार र नेपालस्थित् राजदूतावासलाई नेपाली सवारी साधन भारत जाँदा सुविधा दिन आग्रह गरे । उनले भने,‘भारतीय दूतावासलाई पनि पटक पटक अनुरोध छ, जस्तो सुविधा हामीले भारतीय वाहनलाई यहाँ दिएका छौं (नेपालभित्र) यो पञ्चायतकालबाटै दिएको हो । अहिले नेपाली वाहन भारतमा तीन महिनाको लागि ६ हजार भन्दा माथि पैसा तिर्नुपर्छ । हामीलाई यो व्यवहार किन भारतले गरिरहेको छ ।’

सो क्रममा उनले वर्तमान सरकारबारे आफूहरुले सुरुमा सफल भएको ठानेको स्मरण गराए । तर, अहिले आएर भ्रष्टाचारको छानबिन गर्दै जाँदा आफ्नो मान्छे बचाउन खोजिएको उनको गुनासो थियो । उनले भने,‘हामीलाई पनि यो सरकार सफल भएको ठानेका थियौं । जब भ्रष्टाचारको विषयको छानबिन नजिक आयो, अनुसन्धानरत प्रहरी अधिकृतलाई सरुवा गरियो । छानबिन अवरोध पार्न त्यसो गरियो । उहाँहरुले आफूले चाहेजस्तो छानबिन भएन । अदालतले पूर्व प्रधानमन्त्रीहरुलाई बयान लिन भन्यो, तर त्यसो गरिएन । सुन तस्करीमा पनि सबै मिलेका छन् । अहिलेपनि एक जना पूर्व आईजीपी भागेर अमेरिका पुगेको छ । सरकारले भ्रष्टाचारी समात्ने हो भने प्रहरी, प्रशासन, अख्तियार र सिआईबीलाई खुला छोड्नुपर्छ । स्वतन्त्रता प्रदान गर्नुपर्छ । अनुसन्धानकर्ता अधिकृतहरु सुरुवा गर्न खोज्नु भ्रष्टाचारीलाई बचाउन खोजेको हो ।’

नेता राणाले आफूहरु सरकारमा जाने कुरा हल्लामात्रै रहेको दाबी गरे । उनले भने,‘हामी सरकारमा जाने हल्ला मात्रै हो । यो आरोप लागेको छ । यसमा कुनै सत्यता छैन् । हामीले संसदीय समितिको सभापति पाएकोले यो हल्ला उठेको हो । हामीले पनि संसदीय समितिको सभापति लिने क्रममा बार्गेनिङ त गरेको छैन ? भनेर पनि नेतासँग सोध्यौं । तर, उहाँहरुले त्यस्तो नभएको बताउनुभयो । समिति भनेको संसद्को हो । एउटा समितिको सभापति पाएको हो ।’ उनले संघ र प्रदेश कतैपनि आफ्नो पार्टी सरकारमा सहभागी नजाने स्पष्ट पारे । उनले भने,‘हामीले अहिले सरकारमा जानेगरि छलफल गरेको पनि छैन् । जाने मनस्थितिमा पनि छैनौं ।’



प्रतिक्रिया दिनुहोस्