काठमाडौं, २३ भदौ । नेकपा (एमाले) को पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले नेपालीको पहिचान नै वीरता, वौद्धिकता रहेको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालद्वारा ‘सुशासन, समृद्धि, राष्ट्रियता, नवीनता, सृजनशीलता, गतिशीलता’ भन्ने नाराका साथ आज आयोजना गरिएको कोशी प्रदेश कमिटीको प्रथम ऐतिहासिक प्रदेश अधिवेशनको खुल्ला सत्रमा बोल्दै नेता बस्नेतले नेपालीको पहिचान अनुसार नै कोशी प्रदेश नामाकरण गरिएको उल्लेख गरेका हुन् ।
नेकपा एमालेको प्रस्तावमा प्रदेश नं. १ को नाम कोशी प्रदेश राखिएको स्पष्ट पार्दै कोशी प्रदेशले समग्र कोशीवासी जातजाती, धर्म तथा संस्कृतिको पहिचान समेट्ने दावी गरे । नेपालीको पहिचान नै वीरता र वौद्धिकता रहेको इतिहासका आधारमा राखिएको कोशी प्रदेशको नामलाई कसैले मेट्न नसक्ने उद्घोष गरे । पहिचानवादीको नाममा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, आङ्काजी शेर्पा, हर्क साम्पाङलगायतले कोशी प्रदेशमा धार्मिक तथा सामाजिक सद्भाव भड्काउने कार्य गरिरहेकोमा आक्रोस जनाउँदै उनले धार्मिक तथा सामाजिक सद्भाव भड्काउँदै अराजकता निम्त्याउन खोज्ने अराजक तत्वहरुसँग राष्ट्रिय युवा संघ चुप लागेर बस्न नसक्ने चेतावनी दिए । अबका दिनमा एमालेको पहिचान भनेको नै समृद्धिको रहेको उनले स्पष्ट पारे ।
उनले भने,‘नेपालीको पहिचान नै वीरता, वौद्धिकता रहेको छ । यो पहिचान कसैले मेट्न खोज्छ भने मेटिनेवाला छैन । अबको पहिचान भनेको वर्गीय रुपमा पछाडी परेको, आर्थिक रुपमा पछाडी परेको समुदाय, पछाडी परेको समुदायलाई स्थान दिँदै समृद्धि नै एमालेले चाहेको पहिचान हो । संसारका सवैभन्दा अग्लो हिमाल सगरमाथा तथा संसारकै होचो केचना समेत कोशी प्रदेशमा नै पर्ने भएकाले उक्त पहिचान कोशीवासी आम नागरिकको हो । कोशी संसारको पुरानो र उत्कृष्ट सभ्यता हो । भारतले गंगा नदीलाई आफ्नो मुख्य पहिचानको रुपमा ठान्छ । तर गंगा नदीको पहिचान पनि कोशी नदी नभए पुरा हुँदैन । त्यसैले भारतको गंगा नदीलाई समेत पहिचान दिने नदी कोशी हो । त्यसैले गंगा नदीको समेत मातृ पहिचान बोकेको नदी कोशी हो । त्यसैले कोशी यहाँको साझा पहिचान हो । त्यसैले कोशी प्रदेश राख्ने नेकपा एमालेको प्रस्ताव हो । यहाँ कोही कतै लुकेर, दवेर तथा हिच्किचाएर भन्नु पर्दैन ।’
एमाले सामाजिक सद्भाव, राष्ट्रिय एकता तथा सहकार्यको पक्षमा रहेको उल्लेख गर्दै उनले प्रचण्डले जातीय राज्यको नारा लिएर सद्भाव भड्काउने कार्य गरेको आरोप लगाए । विखण्डनवादी चिन्तन बोकेर माओवादी अगाडी बढेको तर एमाले र केपी ओलीले उक्त कुरालाई प्रतिवाद गरी शान्तिपूर्ण नेपाल निर्माण गरेको स्मरण गराए। धार्मिक सद्भाव भड्काउने कार्यलाई एमालेले कुनै हालतमा सफल हुन नदिने उद्घोष गर्दै संघका इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले भ्रमित विचार नबोक्न आङ्काजी शेर्पा, भिम उपाध्याय, हर्क साम्पाङलगायतलाई चेतावनी दिए ।
एमालेले समृद्धिको पहिचान दिन खोजेको उल्लेख गर्दै उनले केपी ओलीले ‘समृद्ध नेपाल : सुखी नेपाली’को अभियान चलाएको स्मरण गराए । कोशी प्रदेशमा एमालेले ऐतिहासिक विकासका कार्य तथा योगदान गरेको बताउँदै नेता बस्नेतले धरानको साथ साथै कोशी प्रदेशसँग नेकपा एमाले जोडिएको बताए ।
उनले भने,‘बराह क्षेत्र बौद्धिकताको पहिचान हो । जो नेपालीको पहिचान हो । यहाँका राई तथा लिम्बु समुदायका मानिसले नेपालको एकीकरणमा योगदान दिनभयो, जसले नेपालमाथि हुने असंख्य साम्राज्यवादीहरुको आक्रमणमा डटेर लड्नुभयो । चाहे बेलायती सेनामा होस्, चाहे सिंगापुरे सेनामा जाने, चाहे भारतीय सेनामा जाने होस्, विदेशमा गएर नेपालीको सान, मान र प्रतिष्ठा राख्ने कुरामा यहाँको जनजाती, राई तथा लिम्बुहरुले योगदान दिएका छन् । त्यसैले वीरताको पहिचान कोशी प्रदेशले दिएको छ । यो पहिचान कसैले मेट्न खोज्छ भने मेटिनेवाला छैन ।’