Logo

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा गइहाल्नुपर्ने आवश्यकता देखिँदैन : पूर्व परराष्ट्रमन्त्री



काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद डा. नारायण खड्काले चिनियाँ राजदूत छन् सोङले कूटनीतिक मर्यादाबाहिर गएर बोलेको बताएका छन् । भियना कन्भेन्सनले राजदूतलाई अन्य देशका बारेमा त्यसरी बोल्ने छुट नदिएको उनको तर्क छ ।
‘चिनियाँ राजदूतले त नेपाल–चीन सम्बन्धमा बोल्ने हो । त्यो पनि कूटनीतिक सीमाभित्र रहेर आफ्नो प्रतिक्रिया दिनुपर्छ । भियना कन्भेन्सनले अन्य देशका बारेमा त्यसरी बोल्ने छुट दिँदैन । न अमेरिका र भारतका राजदूतलाई पनि त्यसरी बोल्ने छुट हुन्छ, न त चीनको राजदूतलाई । यसबारे परराष्ट्र मन्त्रालयले कुन सन्दर्भमा के बोलेको ? सोधपुछ गर्ने सामान्य कुरा हो । परराष्ट्रले सोध्यो होला,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेपाल दुई ठूला देशको बीचमा बसेर एकको पक्ष लागेर अर्कोको विरोध गर्न नसक्ने पनि डा. खड्काले औंल्याए । दुई छिमेकी देशसँग सन्तुलित सम्बन्ध कायम गर्नु अपरिहार्य रहेको उनको कथन छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले संयुक्त राष्ट्रसंघको महासभामा हतार गइहाल्नुपर्ने जल्दोबल्दो मुद्दा केही नभएको पूर्वपरराष्ट्रमन्त्री समेत रहेका डा. खड्काको टिप्पणी छ । उनले भने, ‘प्रधानमन्त्री चीन जाँदै हुनुहुन्छ । प्रधानमन्त्री हुनासाथ भारत गइहाल्ने, हतार हतार संयुक्त राष्ट्रसंघमा गएर बोल्ने लहड हुन्छ । तर अहिले त्यहाँ गइहाल्नुपर्ने केही आवश्यकता मैले देखेको छैन । त्यहाँ गएर बोल्ने जल्दोबल्दो मुद्दा  पनि केही छैन । अराजकता र भ्रष्टाचारले देशलाई आक्रान्त पारेको छ । अहिले सम्बोधन गर्नुपर्ने घरेलु मुद्दा नै काफी छन् । उपलब्धि हुने पनि केही छैन । कुन ठूलो अनुहार, उत्साह र उमंग लिएर त्यहाँ बोल्ने ?’
साथै उनले गत बुधबार रिपोर्टर्स क्लब अगाडि पार्टीका सहामहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक हमलाको पनि भत्र्सना गरे । डा. खड्काले भने, ‘कसको उक्साहटमा यो काम भएको छ ? त्यो पत्ता लगाउने दायित्व सरकारको हो । यो सिंगो पद्धति र व्यवस्थामाथिकै प्रहार हो । यसमा सजग र सक्रिय रहन प्रचण्डजीलाई अनुरोध गर्दछु ।’

अर्को प्रसंगमा उनले जी-२० को दिल्ली घोषणाले भारतका अन्तर्राष्ट्रिय प्रतिष्ठा बढेको बताए । डा. खड्काले भने, ‘युक्रेनको मुद्दा र शान्तिमा पक्षमा भारतको छवि चम्किलो भएको छ अन्तर्राष्ट्रिय मञ्चमा ।’ अर्थमन्त्रीको भेटघाटमा बोलाए पनि नेपाली प्रधानमन्त्रीलाई बवास्ता गरिनुको कारण खोतल्नुपर्ने पनि उनले औंल्याए ।



प्रतिक्रिया दिनुहोस्