काठमाडौं, २५ भदौ । सुदूरपश्चिम प्रदेशको जिल्ला डोटी सदरमुकाम सिलगढीबाट दक्षिण–पश्चिम ६० किलोमिटर दूरीमा रहेको रमणीय उपत्यका हो, जोरायल । भित्री मधेसजस्तो भौगोलिक अवस्थितिका कारण कुनै बेला औलोज्वरोको प्रकोप भइरहने भएकाले गाउँको नामै ‘जोरायल’ भएको लोककथन छ ।
कुनै बेला ज्वरो आउँदा सामान्य सिटामोल समेत नपाईकन मृत्युवरण गर्नुपरेको तथ्यलाई मनन गरेर जोरायल गाउँपालिकाले जनस्वास्थ्यलाई नै प्राथमिकता सूचीमा राखेर नमुना काम गरिरहेको छ । नेकपा एमालेका तर्फबाट दोस्रो पटक गाउँपालिका अध्यक्षमा निर्वाचित दुर्गादत्त ओझा दिगो विकास लक्ष्य अनुसार दूरदराजका गाउँमा स्वास्थ्य सेवाको पहुँच पुर् याउनुपर्छ भनेर उनले ६ वटै वडामा स्वास्थ्य परीक्षण ल्याब स्थापना गरेको बताउँछन् ।
त्यसले रोग पत्ता लगाउन धनगढी र महेन्द्रनगर धाउनुपर्ने बाध्यता हटेको मात्र छैन, समयमै उपचार सम्भव भएको छ । त्यसका लागि १०–१५ देखि ५० रुपियाँसम्म शुल्क लिएर स्वास्थ्य सेवा दिइएको ओझाले बताए ।
यति मात्र होइन, १० वटा सामुदायिक स्वास्थ्य केन्द्र र बर्थिङ सेन्टरको पनि व्यवस्था गरिएको छ । मातृशिशु मृत्यदर घटेको छ । वडा नं ३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा एमबीबीएस डाक्टरको दरबन्दी थियो तर डाक्टर थिएनन् । अहिले त्यहाँ दरबन्दी अनुसारको डाक्टरसहित एचए, अहेव, अनमिको व्यवस्था भएको छ । गाउँपालिकाको ८२ लाख बजेट खर्चेर ईसीजी समेतको व्यवस्था गरिएको छ ।नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘पालिका बहस’का लागि पत्रकार ऋषि धमलासँग अध्यक्ष ओझाले भने, ‘नागरिकको स्वास्थ्य नै सबभन्दा ठूलो कुरा हो भनेर हामीले स्वास्थ्यमा प्राथमिकता दिएका छौं । त्यसअनुसार काम भइरहेका छन् ।’