काठमाडौं, २५ भदौ । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वरप्रसाद कोइरालाको १ सय १०औँ जन्मजयन्तीको अवसरमा सुरु गरेको विपी साहित्य महोत्सवको आज दोस्रो दिन । कांग्रेस मुख्यालयमा आयोजित उक्त समारोहमा सहभागीहरुको घुईँचो लागेको छ । बिपी साहित्य महोत्सवको उद्घाटन तथा पहिलो दिनका कार्यक्रम भव्यरूपमा सम्पन्न भएको थियो । महोत्सव हिजो भदौ २४ सरु भएको हो । यो भोलि भदौ २६ गतेसम्म चल्नेछ ।
साहित्य महोत्सवको आज दोस्रो दिन । बिहान वीर गणेशमान चलचित्र प्रदर्शन गरी महोत्सवको सुरुआत गरिएको छ । ‘मार्क्स, गान्धी र बिपी, आजको लोकतान्त्रिक समाजावादको खोज’ विषयमा आनन्द कुमारले सम्भाषण दिँदैछन् । त्यसपछि ‘बिपीले नपाएका १५ वर्ष’, ‘बिपीका आख्यानमा मधेस’, ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बिपी’, ‘युवा स्रष्टामा बिपी पठन’ शीर्षकका आख्यान र साहित्यमा प्रवचन तथा छलफल हुँदैछ । दोस्रो दिनको अन्तमा ३० जना गजलकारबाट गजल साँझको आयोजना गर्ने जनाईएको छ ।
https://www.facebook.com/nepalicongresshq/videos/679831547378289
त्यस्तै तेस्रो दिन भदौ २६ गते बिहान तीन घुम्ती चलचित्र प्रदर्शनबाट महोत्सवको सुरुआत गरिने छ । त्यसपछि ‘बिपीको समाजवादी परिकल्पनामा शिक्षा’ विषयमा केदारभक्त माथेमाले सम्भाषण दिनुहुनेछ । त्यसपछि ‘समावेशिता, सामाजिक रूपान्तरण र बिपी’, ‘समय र सबाल्र्टन’, ‘बिपीका आख्यानमा नारी’, ‘परिवारले बुझेका बिपी’ विषयमा अलग अलग सत्र सञ्चालन हुनेछन् । तेस्रो तथा महोत्सवको अन्तिम दिनमा धन्यवाद ज्ञापन र साङ्गितिक साँझसँगै महोत्सवको समापन गरिने पार्टी कार्यालयले जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म भएको बैठकले एक सय १०औँ बिपी जन्मजयन्तीको अवसरमा बिपी साहित्य महोत्सव आयोजना गर्ने निर्णय गरेको थियो । कांग्रेसले जननायक बिपी कोइरालाको जन्मदिन भदौ २४ गतेलाई हरेक वर्ष बिपी जन्मजयन्तीका रूपमा मनाउँदै आएको छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादका क्षेत्रमा उहाँले पु¥याउनुभएको अतुलनीय योगदान नेपाली राजनीतिक इतिहासमा अजर र अमर रहेको छ । आजको राजनीतिक परिवेशमा बिपी विचारको महत्त्व उत्तिकै सान्दर्भिक छ । विश्वेश्वरप्रसाद कोइरालाका नामले नेपाली साहित्याकाशमा पनि उहाँ शीर्ष स्थानमा हुनुहुन्छ ।
महोत्सव अवधिभर कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनीलगायत विभिन्न कार्यक्रम हुने कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।
तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम