काठमाडौं, भदौ २६। नेपाली राजनीति वृत्तमा निकै शालीन नेताका रुपमा परिचित पूर्व संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि आकस्मिक मन्त्रिपरिषद् बैठक बस्न लागेको छ । उनलाई दिइने सम्मानका विषयमा निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
उनलाई कस्तो सम्मान दिने भन्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल परामर्शमा रहेकाले सम्मानको टुङ्गो लागेपछि मन्त्रिपरिषद् बैठक बोलाएर निर्णय लिने सरकारको तयारी रहेको छ ।
नेम्वाङको निधनपछि बुधबार शोक बिदा दिने तयारीसमेत गरिएको बुझिएको छ । नेम्वाङको निधनको खबरसँगै अहिले नेपाली राजनीति वृत्तसँगै सम्पूर्ण मुलुक नै स्तब्ध बनेको छ । उनको निधनप्रति सबै राजनीतिक दलका नेता तथा कार्यकर्ता एवम् आम नागरिकले दुःख व्यक्त गर्दै श्रद्धान्जली अर्पण गरेका छन् ।
संविधान सभा अध्यक्षसमेत रहेका नेता नेम्वाङको सोमबार राती निधन भएको हो । बालुवाटारस्थिति निवासको शौचालयमा बेहोस भेटिएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लैजाँदै गर्दा बीचबाटोमै निधन भएको हो । सोमबार राती १ः५० बजे अस्पताल पुर्याइएका नेम्वाङलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
दिवंगत नेम्वाङलाई श्रद्धान्जली दिन एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन लगायतका विभिन्न दलका शीर्ष नेताहरु शिक्षण अस्पताल पुगेका छन् । नेम्वाङको पार्थिव शरीर श्रद्धान्जलीका लागि पार्टी कार्यालय च्यासल लैजाने तयारी भईरहेको छ ।
पारिवारिक स्रोतका अनुसार नेम्वाङको अन्तिम संस्कार अष्ट्रेलिया र बेलायतबाट छोरा आएपछि मुन्धुम संस्कृतिअनुसार पूजाआजा गरेर बुधबार गरिने छ । (फाईल तस्विर)